बिर्तामोड,२० माघ  । झापाको बिर्तामोडमा पाँचौँ संस्करणको राष्ट्रिय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

लायन्स क्लब अफ अनारमनीको आयोजनामा माघ २७ गतेदेखि २९ गतेसम्म प्रतियोगिता हुने भएको हो । 

 बिर्तामोडको मेहरमान बहुउद्देश्यीय कबर्ड हलमा हुने प्रतियोगिता दुई इभेन्टमा सञ्चालन हुने आयोजक लायन्स क्लब अफ अनारमनीका अध्यक्ष महेन्द्र घिमिरेले जानकारी दिए ।अध्यक्ष घिमिरेका अनुसार प्रतियोगिता खुला डबल्स र खुला भेट्रान्स डबल्स गरी दुई विधामा सञ्चालन हुनेछ ।

प्रतियोगितामा नेपालका उत्कृष्ट २० र्याकिङ खेलाडीले भने भाग लिन पाउने छैनन् । भेट्रान्स विधामा भने ४५ वर्ष उमेरमाथिका खेलाडीले मात्र सहभागिता जनाउन पाउने छन् ।

प्रतियोगिताका खुलातर्फका विजेताले नगद ७० हजार रुपैयाँ, ट्रफी र मेडल पाउने लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट २५ सिका वातावरण प्रमुख समेत रहेका कुरुबाङले जानकारी दिए । त्यस्तै, दोस्रो हुनेले नगद ४० हजार र तेस्रो हुनेले नगद १० हजार, ट्रफी र मेडल प्राप्त गर्ने छन् ।

भेट्रान्सतफका विजेताले नगद ३० हजार रुपैयाँ, ट्रफी र मेडल पाउँदा दोस्रो हुनेले नगद १५ हजार रुपैयाँ, ट्रफी र मेडल तथा तेस्रो हुनेले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल पाउने छन् ।

बिगतमा कोशी प्रदेश स्तरिय  प्रतियोगिता आयोजना गर्दै आएकोमा यो वर्ष राष्ट्रिय स्तरको  प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष घिमिरेले बताए ।