काठमाडौँ,२८ माघ  ।  गायक तथा मोडल दुर्गेश थापामाथि जुत्ता प्रहार भएको छ । स्याङ्जामा आयोजित वालिङ महोत्सवको अन्तिम दिन शनिबार राति स्टेज प्रस्तुति दिँदै गर्दा एक युवकले थापामाथि  जुत्ता प्रहार गरेका हुन् ।

वालिङ उद्योग वाणिज्य संघले आयोजना गरेको आठौँ महोत्सवमा प्रस्तुति दिन थापा स्याङ्जा पुगेका थिए । महोत्सवमा प्रस्तुति दिइरहेको बेला २७ वर्षीय युवकप्रकाश डुम्रेले गायक थापालाई स्टेजतर्फ आफ्नो जुत्ता प्रहार गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी राजीव बस्नेतले बताए । 

‘महोत्सवको अन्तिम दिन २०–२५ हजार मानिसको भिड थियो । एक जना मानिसले जुत्ता हान्यो भने । दुर्गेश आउँदै थिए’ एसपी बस्नेतले भने ,‘जुत्ता हान्ने व्यक्तिलाई प्रहरीले ल्याएर राखेका थियो । आज दुर्गेश र आयोजक आएर भेटे । जुत्ता हान्ने व्यक्तिले मैले इन्टेनसनले हानेको होइन, एक्साइटेट भएर हानेको भने ।’ दुर्गेशले कलाकारलाई यस्तो हुन्छ भनेर सामान्य रुपमा लिएको एसपी बस्नेतको भनाई थियो ।

यता दुर्गेश थापाले भने आफूमाथि जुत्ता प्रहार नभएको बताए । ‘एउटा भाइ मदिरामा झ्याप भएर नाचिरहेका रहेछन् । उनको अगाडि कसैको एउटा जुत्ता भएछ’, दुर्गेशले भने ‘कसको जुत्ता भनेर फाल्दा स्टेज छेउमा आएको थियो ।’ कसैले जुत्ता प्रहार गरेको भए आफूले कानुनी उपचार नगरी त्यसै नछोड्ने समेत दुर्गेशले सुनाए । आज (आइतबार) दुर्गेशसहित छलफलपछि डुम्रेलाई प्रहरीले छाडिसकेको छ ।