काठमाडौँ-भारतको बिहारबाट एउटा अचम्मको घटना बाहिर आएको छ । एक महिलाले बिहे गरेको दुई वर्ष बितिसक्दा पनि श्रीमानले शारीरिक सम्बन्ध नराखेको प्रहरीमा उजुरी गरेकी छन् ।

बिहार राज्यको वैशाली जिल्लास्थित लालगंज थाना अन्तर्गतको एक गाउँमा बस्दै आएकी महिलाले अहियापुर थाना अन्तर्गत घर भएका पतिविरुद्ध उजुरी दिएकी हुन् । धेरै प्रयास गर्दा पनि असफल भई प्रहरीको सहयोग लिनुपरेको महिलाले बताइन् ।

ती महिलाले दिएको उजुरीपत्रमा उल्लेख भए अनुसार उनीहरूको विवाह ३१ मई २०२१ मा भएको हो । विवाहपछि आफू पतिको घर गएको र दुई वर्षसम्म पनि पतिले आफूसँग शारीरिक सम्बन्ध नराखेको उल्लेख गर्दै उनले उजुरीमा यसबारे परिवारका अन्य सदस्यलाई जानकारी गराए पनि कसैले वास्ता नगरेको जनाएकी छन् ।

पतिलाई आफूले शारीरिक सम्बन्ध किन नराखेको भनेर सोध्दा उल्टै आफूमाथि कुटपिट तथा दुर्व्यवहार गर्ने गरेको पनि उनले उजुरीमा उल्लेख गरेकी छन् ।

आफूलाई माइत जानसमेत नदिई धम्की दिएर राखिएको ती महिलाको आरोप छ । आफ्नो हजुरबुवा बिरामी भएको बहाना बनाएर माइत पुगेकी ती महिलाले अहिलेसम्म पनि आफूलाई पति र उसको परिवारका अन्य सदस्यले धम्क्याइरहेको जनाएकी छन् । 

प्रहरी अधिकारी अदिति कुमारीका अनुसार यो मामिलामा उजुरी दर्ता गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ । पीडितको निवेदनमा महिला प्रहरी थानाले आरोपित श्रीमानसहित ६ जनाविरुद्ध किटानी जाहेरी दर्ता गरेको छ ।