पथरी - मोरङको सिरिजङ्घा फुटबल क्लब पथरीशनिश्चरेलाई २–१ गोलले हराउँदै दमकको भुटानीज यूथ क्लब ( विवाइसी) राइजिङ ब्रदर्श सुजना छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रेफ्युजी च्यालेन्ज कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ ।

चार जना अफ्रिकन खेलाडी लिएर मैदान ओर्लिएको भुटानीज यूथलाई सिरिजङ्घा फुटबल क्लबले दर्शनीय चुनौती दिएको थियो तर खेलको ३४ औँ मिनेटमा गोल पोष्ट नजिकै सिरिजङ्घाका खेलाडीले भुटानीज यूथका खेलाडीलाई लडाएपछि रेफ्रि सुवास पोख्रेलले भुटानीज यूथलाई पेनाल्टी प्रहारको अवसर दिए । पेनाल्टीले सदुपयोग गर्दै भुटानीजका मुसाले एक गोल गरे। 

खेलको ५७ औँ मिनेटमा पथरीशनिश्चरे नगरपालिकाले आयोजना गरेको नगर फुटबल प्रतियोगिताको उपाधि उचालेको सिरिजङ्गाका सौर्य राउतले डिबक्स भित्रबाट विवाइसीविरुद्ध गोल गर्दै खेलालाई १–१ गोलको बराबरीमा ल्याए । बराबरीपछि करिब १० हजार दर्शकले भरिएको नगर रङ्गशालामा दर्शकको हुटिङ अझ थपियो । 

खेलको ६५ औँ मिनेटमा विवाइसीका डेविडले आकर्षक  गोल गर्दै टोलीलाई जिततर्फ अग्रसर गराए । 

खेलमा भुटानीज यूथ क्लब ( विवाइसी) का मुसा म्यान अफ दि म्याच घोषित भए । मङ्गलबार  डाँगीहाट फुटबल क्लब, बेलबारी र वाईएफसी पथरीबिच प्रतिस्पर्धा हुनेछ ।