विराटचोक - बिराट नेपाल मेडिकल ट्रस्ट (बि.एन.एम टी नेपाल) ले सावित्री बस्न्यात फण्ड फर टीबी तथा ब्रिटेन नेपाल मेडिकल ट्रस्ट (बि.एन. एम टी यू.के ) को सहयोगमा मोरङको विभिन्न पालिकामा क्षयरोगको उपचार गरिरहेका विरामीहरुलाई पोषक खानेकुरा र खाद्यान्न वितरण गरेको छ।
ब्रिटेन नेपाल मेडिकल ट्रष्ट (बिएनएमटी) ले बिहिबार मोरङको कानेपोखरी गाउँ पालिका र पथरीशनिश्चरे मा रहेका क्षयरोगका विपन्न बर्गका विरामीहरुलाई पोषक खाद्यान्न वितरण गरेको हो ।
क्षयरोग लागेका विपन्न बर्गका विरामीहरुले कडा पावरको औषधी खाएर काममा जानुपर्ने भएकोले त्यस्ता बिरामीहरुलाई पोषक खानेकुराको कमी नहोस् भन्ने हेतुले खाद्यान्न वितरण गरिएको संस्थाको मोरङ शाखाकी कार्यक्रम संयोजक पुनम बिष्टले जानकारी दिईन्। बिहिबार संस्थाले कानेपोखरी गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारी मार्फत कानेपोखरीमा रहेका २५ जना बिरामी मध्ये बिपन्न बर्गका ५ जना बिरामीलाई पोषक खानेकुरा र खाद्यान्न वितरण गरेको छ। बिहिबार नै पथरीशनिश्चरेका १४ जना क्षयरोगका विरामीहरुलाई पनि खाद्यान्न वितरण गरिएको बिष्टले बताइन्।
विरामीहरुलाई प्रतिव्यक्ति २५ के जी चामल, १ के जी दाल , १ के जी चना, १ लिटर तेल, १ के जी सोयाबि न , १ के जी सर्वोत्तम पीठो र १ क्यारेट अण्डा बिने गरिएको छ। क्षयरोगका बिरामीहरुलाई प्रत्येक ६ महिना उपचार अवधिभर प्रत्येक महिना तौल र स्वास्थ्य जाँच समेत गरी खाद्यान्न बितरण गरिने बिष्टले जानकारी दिइन्।
हाल मोरङमा विराटनगर महानगरपालिका, पथरीशनिश्चरे नगरपालिका, कानेपोखरी, जहदा र बुढीगंगा गाउँपालिकामा कार्यक्रम संचालन गरिएको छ।



















