पथरी - बेलबारी फुटबल क्लबलाई पराजित गर्दै वाई एफ सी बेलडाँगीले रिफुजी च्यालेन्ज कपको फाइनल यात्रा तय गरेको छ ।
मोरङको पथरी शनिश्चरे-१० काे प्रस्तावित रङ्गशालामा जारी राईजिङ ब्रदर्स सुजना छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रिफुजी च्यालेन्ज कप अन्तर्गत शुक्रबारको दोस्रो सेमिफाइनलमा बेलबारी फुटबल क्लबलाई १ का विरुद्ध २ गोल गर्दै वाइ एफ सी बेलडाँगी फाइनलमा पुगेको हो।
खेलकाे ५० औं मिनेटमा वाई एफसीका डेभिडले गाेल गर्दै आफ्नाे टिमकाे लागि खाता खोलेका थिए । त्यसकाे ५ मिनेटपछि नै विपक्षी बेलबारी फुटबल क्लबका जर्सी न ६ का विवेक पौडेलले पेनाल्टीकाे अवसरलाई सदुपयोग गर्दै गोल गरी खेललाई बराबरीमा पुर्याएका थिए।
विदेशी खेलाडी समेत अनुबन्धित दुवै टिमबाट निक्कै रोमाञ्चक प्रतिस्पर्धा भैरहँदा खेलको ७९ औं मिनेटमा वाई एफसी बेलडाँगीका जर्सी नं ८ का उमेश कार्कीले विपक्षी खेलाडीलाई छक्याउँदै गोलपोष्टमा प्रहार गरेको बल गोलकिपरको हातबाट फुत्किएर जाली चुम्न पुगेको थियो। यो गोलले नै वाई एफसीलाई फाईनलको यात्रामा पुर्यायो ।
शुक्रबारको खेलको 'म्यान अफ दि म्याच' बेलडाँगीका जर्सी नं ८ का उमेश कार्की घोषित भए । उनलाई प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख शालिग्राम काफ्ले, नगर खेलकुद विकास समितिका संयोजक दिपक राई, वडा नं १० का वडाध्यक्ष जीवन खतिवडा लगायतले नगद ३ हजार रुपैयाँ सहित ट्रफी प्रदान गरे ।
आईतवार आयोजक युथ फुटबल क्लव पथरी र बेलडाँगीको युथ एफ सी बिच उपाधिका लागि भिडन्त हुने आयोजक सुमन कुरूङ्वाङले जानकारी दिए ।
प्रतियोगितामा पूर्वी नेपाल र भारतको एक टीम गरी १० टिमको सहभागिता थियो । प्रतियोगिताको विजेताले दुई लाख रुपियाँ, र ट्रफी तथा उपविजेताले लाख रुपियाँ र ट्रफी पाउनेछन् ।




















