पथरी - मोरङ पथरीशनिश्चरेमा आयोजित ‘राइजिङ ब्रदर्स छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रिफुजी च्यालेन्ज कपको उपाधि आयोजक पथरीशनिश्चरे शिविरले उचालेको छ ।

 आइबार भएको फाइनल खेलमा झापा बेलडागी शिविर (बीवाईसी) लाई १-० गोल अन्तरले पराजित गर्दै पथरीशनिश्चरे शिविरले उपाधि उचालेको हो । उपाधिसँगै आयोजक टीमले ट्रफीसहित दुई लाख रुपैयाँ पाएको छ भने उपबिजेताले ट्रफीसहित एक लाख रुपैयाँमा चित्त बुझाउनुपरेको छ ।

खेल शुरु भएको ११ औ मिनेटमा आयोजक टीमका सागर तिवारीले गरेको गोल नै उपाधिका लागि  निर्णायक बन्यो । 

फाइनल खेलमा दुवै टीमले तीन तीन जना नाइजेरियन अश्वेत खेलाडीहरु मैदानमा उतारेका थिए । आयोजक पथरीशनिश्चरे शिविरबाट ग्लोरी, अल्लु, टोरो र बेलडाँगी शिविरबाट भेर्रती, डेभिड र मुसा नाम गरेका अश्वेत खेलाडीहरु  थिए । 

फाइनल खेलको म्यान आफ द सिरिज शनिश्चरे शिविरका खेलाडी राजु मगर घोषित भए । यसैगरी उदीयमान खेलाडी शनिश्चरे शिविरकै न्युसन धिमाल, बेष्ट फरवार्ड सागर क्षेत्री र बेष्ट कोच अशोक राई घोषित भए । 

बेष्ट मिड फिल्डर बेलडाँगी शिविरका खेलाडी उमेश कार्की र हाइ स्कोरर नाइजेरियन खेलाडी डेबिड पुरस्कृत भए । 

  प्रमुख अतिथिसमेत रहेका पथरीशनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्वापाे उपप्रमुख देवीमाया काफ्ले, १० नं. वडा अध्यक्ष जीवन खतिवडा, शिविर सचिव करण राई, राज गुरुङ, स्थानीय समाजसेवी प्रदीपकुमार राई लगायतले विजेता र उपविजेता टीम र खेलाडीहरुलाई ट्रफी तथा पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा दुई वटा भुटानी शिविर, पूर्वाे नेपालको सात र भारतको एक गरी १० वटा टिम सहभागी थिए  । प्रतियोगिताको फाइनल खेल हेर्न धेरै फुटबल प्रेमी दर्शक मैदानमा उपस्थित भएका  थिए ।