काठमाडौं -दुबईको जेलमा विगत ५ वर्षदेखि मृत्युदण्ड कुरिरहेका धादिङका पलमान मगर र ओखलढुंगाका भुवन श्रेष्ठलाई ब्लडमनी तिर्ने पैसा जुटेको छ । 

रोजगारीको सिलसिलामा दुबईमा रहेका मगर र श्रेष्ठलाई अदालतले मृत्यदण्डको सजाय सुनाउँदै ब्लडमनि दिएमा सो सजायबाट मुक्ति पाउने फैसला गरेको थियो । दुबईस्थित आफ्नै कम्पनीमा कार्यरत रहेका नवलपुरका बाबुराम आलेमगर गम्भीर घाइते रहेका बेला उपचारका लागि अस्पताल लैजाँदा मृत्यु भएपछि मगर र श्रेष्ठलाई दुबई प्रहरीले पक्राउ गरेको थियो ।

दुबईको अदालतले उनीहरूलाई नेपालमा परिवारले मागेको ५०–५० लाख रुपैयाँ ब्लडमनी तिर्नुपर्ने फैसला सुनाएको थियो । अदालतले सो फैसला सुनाएपछि मगर र श्रेष्ठ बचाउ अभियान सञ्चालन गरेर १ करोड रुपैयाँँ संकलन गरिएको समाजसेवी घनश्याम थापामगरले जानकारी दिएका छन्  ।

समाजसेवाी थापामगरका अनुसार यूएईमा मृत्युुदण्ड कुरेर बसेका मगर र श्रेष्ठ बचाउ अभियानमा ५०/५० लाख रुपैयाँ उठिसकेको छ । उनले सो रकम जुटेसँगै बुधबारबाट अभियान बन्द गरिएको जानकारी पनि दिए । उनले भने,‘सहयोगका लागि विश्वभरि छरिएर बस्नुभएका भगवानरुपी सहयोगी दाता र अभियन्ता साथीहरूमा धेरै धेरै धन्यवाद ।’

अब कानुनअनुसार मृतकको परिवारको खातामा १ करोड नेपाली रुपैयाँ जम्मा भएपछि एक अरबिक कानून ब्यवसायी वकिल खोजेर मुद्दा फिर्ताको तयारी थालिने उनले जानकारी दिए ।