विराटचोक — इलामको माइजोगमाई गाउँपालिकाले बेवारिसे अवस्थामा भेटिएको शिशु वा वालवालिकाहरु नि:सन्तान दम्पतिलाई जिम्मा लगाउने कार्यक्रम थालेको छ । गाउँपालिकाले कार्यविधि बनाएर कानुनी प्रक्रिया पूरा गरी निसन्तान अभिभावकलाई बच्चा जिम्मा लगाउने कार्यक्रम थालेको हो ।
कार्यक्रम अन्तरगत गाउँपालिकाले बिहे भएको २५ वर्षसम्म पनि बच्चा नभएका वडा नं १० चिसापानीका शिक्षक ठहरसिंह बस्नेत र विष्णुमाया चौंलागाईंको दम्पतिलाई एक शिशु उपहार दिएको छ । गाउँपालिकाले करिब दुईमहिने शिशु छोराका रूपमा उनीहरूको हातमा राखुदिँदा उनीहरू हर्षित देखिन्थे ।
गत पुस अन्तिम साता माइजोगमाई गाउँपालिका–३, गिद्देभिरको ढुङ्गाको च्यापमा बेवारिसे अवस्थामा फेला परेका नवजात शिशु गाउँपालिकाले बस्नेत दम्पतीलाई जिमा लगाएको हो । फेला पर्नासाथ इलाम अस्पतालमा राखिएको शिशुलाई कानुनी प्रक्रिया पूरा गरी अस्पतालबाटै धर्मपुत्रका रूपमा बस्नेत दम्पतीलाई दिइएको गाउँपालिकाले जनाएको छ ।
शिशु लिने बस्नेत दम्पतीलाइ गाउँपालिकाले १४ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गराएको छ । बेवारिसे अवस्थामा भेटिएको शिशुलाई कार्यविधि नै बनाएर अभिभावकलाई कानुनी रूपमा जिम्मा लगाउने जोगमाइ इलामको यो पहिलो पालिका भएको छ ।
‘जीवनको पहिलो खुसी पाएको छु,’ सम्झौतापत्रमा हस्ताक्षर गर्दै आजै बाबु बनेका ठहरसिंहले भने, ‘हामी यति हर्षित भएका छौं कि, व्यक्त गर्ने कुनै शब्द छैन । यो शिशु जिम्मा बुझ्दैगर्दा हामीले गरेका लिखित–अलिखित सबैखाले प्रतिबद्धता पूरा गर्नेछौं ।’
त्यसो त बस्नेतका तीन दाजु–भाइमा पनि तीनैजनाका सन्तान छैनन् ।
माइजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले कार्यविधि नै निर्माण गरी पालिकाले बेवारिसे अबस्थामा भेटिएका शिशु वा वालवालिकाहरु निसन्तान दम्पतिलाई दिएर अरूभन्दा फरक काम गरेको बताए ।




















