भोजपुरको हतुवागढी ७ पिप्लेमा भएको आगलागीमा परी तीन जना बालबालिकाको मृत्यु भएको छ ।
बालबालिका खेलिरहेको बेला शनिबार अचानक आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो। मृत्यु हुनेमा ५ बर्षिय प्रनिष कार्की, ७ बर्षिया बालिका दिपशिखा कार्की र ३ बर्षिय बालक दियुनिष कार्की रहेको प्रहरीले जनाएको छ ।
मृत्यु भएका मध्ये प्रनिष केदार कार्कीका छोरा हुन् भने दिपशिखा र दियुनिष केदारका भाई रमेश कार्कीका छोरा छोरी रहेको प्रहरीले जनाएको छ । बालबालिका खेलिरहेको ठाउँमा अचानक आगलागी हुँदा उनीहरुको मृत्यु भएको तर आगालगीको कारण नखुलेपनि त्यसबारे अनुसन्धान भइरहेको भोजपुरका प्रहरी प्रमुख डिएसपी सुदिपराज पाठकले जानकारी दिए ।
यसैबीच भोजपुरको टक्सार बजारमा दिउँसोदेखि लागेको आगलागी नियन्त्रणमा आएको छ । जसमा ७ वटा घर र १० वटा गोठ जलेर नष्ट भएको पाठकले जानकारी दिए । जलेका घरमध्ये २ वटामा मानिसको बसोबास नभएको र अन्य घरमा भएको क्षतिको विवरण आइनसकेको उनले जानकारी दिए ।




















