धरान  - २४औं बुढासुब्बा गोल्डकपको उपाधि न्युरोड टिम, एनआरटीले जितेको छ ।
 शनिबार भएको फाइनलमा जिल्ला फुटबल संघ मोरङलाई २-१ ले पराजित गर्दै एनआरटीले दोस्रो पटक उपाधि जितेको हो ।
एनआरटीलाई उपाधि जिताउन ओलावाले अफिज र सरोज तामाङले एक एक गोल गरे । अफिजले खेलको छैटौं र तामाङले ५१औं मिनेटमा गोल गरेका थिए । मोरङका उमेश कार्कीले ४३औं मिनेटमा गोल फर्काए पनि हार रोक्न सकेनन्  । 
प्रतियोगिताको विजेता एनआरटीले १० लाख र उपविजेता मोरङले ५ लाख रुपैयाँ पाएका छन् । यसअघि एनआरटीले १०औं संस्करणमा जावलाखेल युथ क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो । 
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एनआरटीका सनम लिम्बु घोषित भए । उनले एक लाख नगद हात पारे ।  एनआरटीका अफिज ओलावाले, सरोज तामाङ र मोरङका उमेश कार्की उच्च गोलकर्ता बने । उनीहरुले जनही १२/१२ हजार रुपैयाँ प्राप्त गरे । 
बेस्ट डिफेन्स मोरङका महेन्द्र कार्की, बेस्ट स्ट्राइकर एनआरटीका शिशिर लेखी, बेस्ट मिडफिल्डर एनआरटीका जय गुरुङ, बेस्ट गोलकिपर एनआरटीका पूजन होना, बेस्ट कोच एनआरटीका जीवन सिन्खेमान घोषित भए । उनीहरूले जनही २५/ २५ हजार रुपैयाँ प्राप्त गरे ।
 एनआरटीले गत संस्करणको उपविजेता काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापालाई पेनाल्टीमा ५-० ले पराजित गर्दै मोरङ सँगको उपाधि भिडन्त पक्का गरेको थियो । 
मोरङले सेमिफाइनलमा आयोजक धरान फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गरेको थियो ।