विराटनगर - विराट गोल्ड कप यही चैत १५ देखि २४ गतेसम्म बिराटनगरस्थित शहीद रङ्गशालामा सञ्चालन हुने भएको छ ।
आयोजकले पत्रकार सम्मेलन गरीत्यसबारे जानकारी दिएको छ । विराट गोल्ड कप ट्रस्टको आयोजनामा हुने प्रतियोगिता डे नाइट हुनेछ ।
प्रतियोगिताको पुरस्कार राशि भने यसबर्ष झन्डै आधा घटाइएको छ । प्रतियोगिताको विजेताले गत वर्ष २० लाख ५१ हजार र उपविजेताले १० लाख ५१ हजार रुपैयाँ पुरस्कार पाउँदै आएकोमा यो वर्ष विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । आर्थिक मन्दी र गत वर्ष घाटा भएका कारण यो वर्ष पुरस्कारको राशि घटाइएको आयोजकले जनाएका छन् ।
प्रतियोगितामा भुटान, भारत र नेपालका १० वटा टिमको सहभागिता रहने आयोजक समितिका अध्यक्ष किशोर शाहीले जानकारी दिए ।
२०१८ सालदेखि महेन्द्र गोल्ड कपको नामबाट सुरु गरिएको गोल्ड कप २०६८ सालबाट विराट गोल्ड कपको नामबाट सञ्चालन हुँदै आएको छ ।
विराट गोल्ड कप ट्रष्टले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकार सम्मेलनमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराट गोल्ड कप विराटनगरको शान भएकाले प्रतियोगिता सफल बनाउनका लागि सहयोग गर्न सबैलाई आग्रह गरे ।
बिराट गोल्डकपमा गत वर्ष विराटनगर फुटबल क्लब प्रतियोगिताको विजेता बनेको थियो भने भारत केरलाको लुका सकर क्लब उपविजेता बनेको थियो ।




















