इटहरी  -  लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तेस्रो लिङ्गी समुदायले दुःख दिने गरेको गुनासो बढिरहेको बेला इटहरीको स्थानीय सरकार र प्रहरी प्रशासनले नयाँ अभ्यासको थालनी गरेको छ ।
तेस्रो लिङ्गीहरूलाई प्रताडित गर्ने, जिस्काउने र उक्साउने युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ । इलाका प्रहरी कार्यालय इटहरीले २ दिनको अन्तरालमा तेस्रो लिङ्गी समुदायका सदस्यहरूलाई उक्साउने २७ जना युवाहरूलाई नियन्त्रणमा लिएको छ ।
मध्यरातको समयमा सडक आसपास निस्किएका तेस्रो लिङ्गीहरूसँग बस्ने, उनीहरूलाई कलमार्फत् सम्पर्कमा ल्याई यौनधन्दामा लगाउने र सँगै बसेर हो–हल्ला मच्चाउने २७ जना युवाहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी टेकबहादुर कार्कीले बताए । उनीहरूलाई उचित परामर्शसहित अभिभावक बोलाएर जिम्मा लगाउने गरिएको कार्कीले बताए । नियन्त्रणमा रहेका युवाहरू सिरहा, धरान, झापा, इटहरीलगायतका छन् । प्रहरीले उनीहरूको नाम भने सार्वजनिक गरेको छैन ।
स्थानीयहरूबाट पटक–पटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले दुःख दिने गरेको गुनासो आएपछि उपमहानगर परिसरमा चलाइएको छलफलपछि नयाँ योजनासहित काम थालेको इटहरी उपमहानगर प्रमुख हेमकर्ण पौडेलले बताए । सर्वसाधारणबाट आएको गुनासोलाई सुन्ने अनि तत्काल समाधान निस्किने गरी कदम चाल्नु पर्दा यो योजना ठीक रहेको नगर प्रमुख पौडेलले बताए ।