कालिकोट — कालिकोटको खाँडाचक्र नगरपालिका–५ ढाँडगाउँकाे नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा परी घाइते भएका बाबु छोरीको ज्यान गएको छ ।
चैत २ गते बाख्रा चराउन गएको बेला वनमा लागेको डढेलोमा परी घाइते भएका भएका ५० वर्षीय नन्दराम चौलागाईं र उनकी छोरी १२ वर्षीया हेमन्तीको ज्यान गएको हो । घाइते दुवै बाबु-छोरीलाई शनिबार जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारका लागि हेलिकोप्टरमा राखी सुर्खेत लगिएको थियो ।
आगोमा जलेर घाइते भएकी हेमन्तीको सोमबार ज्यान गएको थियो भने नन्दरामलाई चार दिन आईसीयूमा राखी उपचार गरिएको भए पनि बुधबार ज्यान गएको छ। दुवैको उपचारकै क्रममा ज्यान गएको हो ।
शुक्रबार दिउँसो घर मुनिको वनमा गोठालो गएका बुबालाई खाजा पुर्याउन गएकी हेमन्ती बाबुसँगै जलेर घाइते भएकी थिईन । आगलागीमा ४५ वटा बाख्रा पनि जलेर मरेका थिए ।




















