राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ मा मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ ।
पार्टीको तर्फबाट उम्मेद्वारको सूचीमा रहेका ६ जनामध्येका लिम्बु सर्वसम्मत उम्मेदवार बनेका हुन् । बुधबार लिम्बुसहित ६ जनाको नाम सार्वजनिक गरेको रास्वपाले बिहीबार लिम्बुलाइ उम्मेदवार बनाएको हो । उम्मेद्वारका आकांक्षी सबैले लिम्बुलाई समर्थन गर्ने प्रतिवद्धता जनाएपछि उनी सर्वसम्मत उम्मेद्वार बनेको रास्वपा निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले बताए ।
१७ चैतमा उम्मेदवार चयन गर्ने कार्यतालिका बनाएको रास्वपाले दुई दिन अघि नै लिम्बुलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । ईलाममा हुने उपनिर्वाचनमा रास्वपाबाट गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे, मिलन लिम्बु र डा. शेषरमण न्यौपाने उम्मेदवारका आकांक्षी थिए ।
केही समयअघि माओवादी छोडेर स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका लिम्बु स्वतन्त्र उम्मेद्वार बन्न केही समयअघिदेखि चुनाव प्रचारमा जुटेका थिए ।
लिम्बू पत्रकार पनि हुन् । आदिवासी जनजाति पत्रकार महासंघको केन्द्रीय महासचिव तथा प्रेस सेन्टर नेपालमा आबद्ध उनले यसअघि राजनीतिक आबद्धता त्यागेको र स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीले संघीयता र पहिचानको मुद्दामा प्रतिवद्धता जनाएपछि आफूले उक्त पार्टीबाट उम्मेदवार बन्ने निर्णय गरेको लिम्बूले बताएका छन् ।
इलाम क्षेत्र नम्बर २ मा वैशाख १५ मा हुने उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट सुबास नेम्बाङका छोरा सुहाङ नेम्वाङ उम्मेद्वार बनेका छन् । कांग्रेस, माओवादी, रास्वपा लगायतका पार्टीहरुले एक्लाएक्लै उम्मेदवारी दिने र गठबन्धन नबन्ने भएपछि इलाममा एमाले र रास्वपा उम्मेदवारबिच नै प्रतिस्पर्धा हुने ठानिएको छ ।
पुर्व सभामुख तथा एमाले नेता सुवासचन्द्र नेम्वाङको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको छ । उपनिर्वाचनको लागि चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।



















