एजेन्सी— दिल्लीका मुख्यमन्त्री र आम आदमी पार्टी (आप) का राष्ट्रिय संयोजक अरविन्द केजरीवाललाई हिरासतमा राख्ने समय थपिएको छ । केजरीवाललाई अदालतले न्यायिक हिरासतमा राख्न २३ अप्रिल सम्म समय बढाएको हो ।
१५ दिनको न्यायिक हिरासतको म्याद सकिएपछि उनलाई आज अप्रिल १५ का दिन तिहाड जेलबाट भिडियो कन्फ्रेन्समार्फत राउज एभिन्यू अदालतमा हाजिर गरिएको हो ।
केजरीवाललाई ईडीले २१ मार्चमा दिल्ली एक्साइज नीति मामिलामा उनको निवासबाट पक्राउ गरेको थियो। यसपछि अदालतले उनलाई दुई पटक ईडी रिमाण्डमा पठाएको थियो । त्यसपछि अदालतले उनलाई १ अप्रिलमा न्यायिक हिरासतमा पठाएको थियो । त्यसयता केजरीवाल दिल्लीको तिहाड जेलमा छन्।
हिरासतमा रहेका केजरीवाललाई आज पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले उनलाई भेटेका छन । भेटपछि उनले केजरीवाललाई कडा अपराधी जस्तै जेलमा राखिएको दाबी गरे । कारागारमा आतंकवादीलाई दिने सुविधा पनि मुख्यमन्त्रीले पाएका छैनन् ।
भगवन्त मानले भने, ‘उहाँलाई देखेर म भावुक भएँ । उहाँलाई कठोर अपराधी जस्तै व्यवहार गरिएको छ। उहाँको गल्ती के हो ? मोहल्ला क्लिनिक बनाउनु उनीहरुको गल्ती हो ?
मानले केजरीवाललाई आधा घण्टा भेटेको तर उनीहरुबीच सिसाको पर्खाल रहेको र दुई नेताबीच फोन कलबाट कुराकानी भएको बताए ।
आज सर्वोच्च अदालतमा अरविन्द केजरीवालको याचिकामा पनि सुनुवाइ भएको छ । सर्वोच्च अदालतले उनको याचिकामा ईडीसँग २४ अप्रिलसम्म जवाफ मागेको छ। अदालतले अप्रिल २९ देखि सुरु हुने हप्तामा मुद्दाको सुनुवाइ हुने जनाएको छ ।
सीएम केजरीवालले ईडीको गिरफ्तारीलाई चुनौती दिएका छन्। यसअघि दिल्ली उच्च अदालतले केजरीवाललाई राहत दिन अस्वीकार गरेको थियो।




















