विराटनगर —  विराटनगरको रानीमा दुई समुदायबीच झडप भएको छ। राम नवमीको अवसरमा निकालिएको र्‍यालीलाई लिएर तनाव भएपछि उनीहरूबीच झडप भएको हो।

बुधबार दिउँसो अवरोधपछि सुरु भएको विवाद बढेपछि रानी क्षेत्र तनावग्रस्त भएको छ । स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले बल प्रयोग गरेको छ । केही राउण्ड हवाई फायर र केही सेल अश्रुग्याँस पनि प्रहार गरेको मोरङ प्रहरीले जनाएको छ ।

झडपमा ५ जना प्रहरी घाइते भएका छन्। 

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको बताए। स्थानीय प्रशासनले संयमता अपनाउन सबैमा आग्रह गरेको छ।

स्थानीयबासीका अनुसार विराटनगरको वडा नम्बर १५ र १७ को बीचमा एउटा समूहले र्‍यालीलाई अवरोध गरेपछि विवाद बढेको थियो ।