फूल सबैलाई मन पर्छ, अर्थात् फूल मन नपर्ने संसारमा कोही होलाजस्तो मलाई लाग्दैन । फूल प्राकृतिक सौन्दर्यको द्योतक पनि हो, जसले मनुष्यको मनलाई आह्लादित पार्दछ । फलको जन्म पनि फूलबाट नै हुन्छ, तर यहाँ म फूलकै प्रयोजनका निम्ति फुल्ने फूलका सन्दर्भमा केही कुरा राख्न लाग्दै छु ।

धार्मिक कृत्यहरूमा फूलको महत्त्व अत्यधिक मात्रामा रहेको हुन्छ, किनभने देवतालाई फूल नचढाईकन गरिने कार्यलाई स्वीकार गर्न सकिन्न । हिजोआज ता कथित गण्यमान्य नेता वा अतिथिका रूपमा उपस्थित हुने स्वदेशी वा विदेशी व्यक्तिहरूलाई पनि उनीहरूको दर्जा हेरी फूलको गुच्छा वा मालाले स्वागत गर्ने गरिन्छ । कतिपय आडम्बरी नेताहरूलाई त चाप्लुसी घस्न सिपालु चाकडीबाजहरूले यति किलोको यति लामो माला भन्दै मिडियाहरूमा फुकिरहेका हुन्छन् । जे होस्, फूलको महत्त्व जे जे र जता जता भए पनि धेरै नै देखिने गरेको छ ।

अब मात्र म खास भन्न लागेको प्रसङ्‌गतिर आउँदै छु । फूल हिजोआज मेरा विचारमा प्रगतिशील काममा पनि प्रयोग हुन थालेको छ । नव वरवधूलाई टिको लगाएर आशीर्वाद दिने चलनलाई विस्थापित गरी उनीहरूलाई केवल फूल लगाएर यथाशक्य उपहार दिने गर्न थालिएको छ, साथै व्रतबन्ध र गुनिउँचोलीको कार्यमा पनि फूल नै दिन थालिएको छ । रङ लगाएको अक्षता अधिक रूपमा प्रयोग गर्दा  कतिपय व्यक्तिहरूलाई टाउको दुख्ने वा चक्कर लागेर ढल्ने गरेको पनि देखिएकै हो । टिको लगाइदिने व्यक्तिको हात रङ्‌गिएर सफा कपडामा लागेर हैरान बनाउने गरेको कुरा पनि भोग्दै आइएकै हो । त्यसो भएको हुनाले त्यस चलनका ठाउँमा फूलको प्रयोग हुनु स्वागतयोग्य कुरा हो भन्ने मलाई लाग्छ ।

फूल दिने यो चलन सर्वव्यापक हुन सक्यो भने एकातिर पुष्पव्यवसायलाई प्रोत्साहन मिल्न जान्छ भने अर्कातिर मौरीपालन व्यवसायलाई पनि अघि बढाउन सकिन्छ । फूल त्यसै पनि सुन्दर हुन्छ, झन् व्यावसायिक रूपमा यसको खेती गर्न थालियो भने सम्पूर्ण वातावरण नै सुन्दर बन्न जान्छ, साथै यसले उत्पादन गर्ने अक्सिजनबाट मानिसलगायत अन्य प्राणीहरू पनि लाभान्वित हुन सक्छन् । त्यसैले मेरो के मत छ भने अबदेखि हामी सबैले माथि उल्लेख गरिएका कार्यहरूमा फूल नै प्रयोग गर्ने गरौँ, यही नै युगको माग पनि हो भनेर बुझौँ ।

  आचार्य अमृत              

- सुन्दरहरैँचा नपा- १२, मोरङ ।