धरान । धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैंयामा भोजपुर आमचोक–१० की सरस्वती राई उपचार गराइरहेकी छन् । सोमबार पारकुवामा भएको दुर्घटनामा उनको खुट्टा र निधारमा चोट लागेको छ । उनी भोजपुरबाट धरान फर्कने क्रममा जीपमा सवार थिइन् । ‘गाडीमा समस्या थियो जस्तो लाग्दैन, पारकुवामा चालकले पार्किङ गर्न खोज्दा खै के भयो गाडी पल्टियो’, शैंयाबाटै उनले सुनाइन्, ‘पार्किङ गर्न लागेको गाडी एक्कासी पल्टिएर तल खस्यो । हाम्रो होस हवास गुम्यो ।’
दुर्घटनाको सूचना पाए लगत्तै घटनास्थल पुगेर यात्रुको उद्धारमा लागेका भोजपुर आमचोक गाउँपालिकाका उपाध्यक्ष सीता राईले दुर्घटनाले आफूहरुलाई गम्भीर बनाएको बताइन् । ‘हिजोको घटनाले हामी सबैलाई गम्भीर बनाएको छ, पछिल्लो समय पहाडी क्षेत्रमा सवारी दुर्घटनाको घटना बढ्दै जाँदा स्थानीय सरकारको ध्यानाकर्षण भएको छ’, उनले भनिन् ।
उनले पहाडी भेगको बाटो मर्मत तथा स्तरोन्नतिका लागि ठूलो बजेट आवश्यक भएकाले सङ्घीय सरकारसँग सहयोगको अपेक्षा गरेको बताइन् । उनले चार जना घाइतेको अवस्था गम्भीर रहेको र तत्काल आइसीयुको आवश्यकता परेकाले धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम वेघासँग सहयोगको अपिल गरेको बताइन् । उपप्रमुख वेघाले विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगी घाइतेहरुको अवस्थाबारे जानकारी लिएका थिए । उनले आफूले सक्दो सहयोग गर्ने वचन समेत दिए ।


