काठमाडौं — नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

टोखा नगरपालिका–९ स्थित सुर्खेत खाजाघरमा नाबालिकाहरुलाई विभिन्न किसिमको डरत्राश र प्रलोभनमा पारी वेश्यावृतिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले  टोखा नगरपालिका–९ दिपज्योती मार्ग बस्ने दार्चुला व्यास गाउँपालिका–६ हुती घर भएका २९ वर्षीय लोकेन्द्र बडु र टोखा नगरपालिका–९ बस्ने सर्लाही हरिवन नगरपालिका–२ घर भएकी ३७ वर्षीया कान्छीमाया घिसिङलाइ पक्राउ  गरेको हो ।  प्रहरीले  पीडित बालिकाको पनि उद्दार गरिएको छ । 

नाबालिकालाई नेपालका विभिन्न स्थानबाट वेटर लगायतको काममा लगाउने भनी आफ्नो खाजाघरमा ल्याई विभिन्न किसिमको डरत्राश र प्रलोभन देखाई ग्राहकहरूसँग खाजाघरमा नै रहेको कोठामा र ग्राहकले चाहेमा बाहिरको होटल र गेष्ट हाउसहरूमा समेत पठाई वेश्यावृतिमा लगाउने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।