ओखलढुङ्गा — ओखलढुङ्गामा आगोले जलेर आमाछोराको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका-१० बेतेनीमा  आमाछोराको मृत्यु भएको हो ।

सोमबार मध्यान्हको समयमा हरिबोले बसाहा सामुदायिक वनको डढेलो खरबारीमा प्रवेश गरेपछि खर जोगाउने क्रममा ५५ वर्षीया पुन्यमाया धमला र उनका छोरा १५ वर्षीय कञ्चन धमलाको घटनास्थलमै ज्यान गएको हो ।

बाहुनडाँडा कोल पाखाको खरबारीमा लागेको आगो निभाउने क्रममा मा निजी खरपाखामा राखिएको खर घाँस जोगाउने क्रममा सुरुमा आमा आगोमा परेको र आमालाई जोगाउन जाँदा छोराको समेत जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक बालिष्टार सिंहले बताउनुभयो ।

घटनास्थलमा प्रहरी परिचालन गरिएको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । केही दिनअघि देखि स्थानीय जङ्गलमा डढेलो लागेको थियो । अहिले जिल्लाका विभिन्न स्थानमा डढेलो लागिरहेको छ ।