• अम्बिका भण्डारी

विराटचोक — सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम  खर्चिलो र तडकभडक पुर्ण भएको भन्दै सर्बत्र आलोचना भएको छ । 

आर्थिक मन्दीका कारण व्यापार व्यावसाय धराशायी भएको र व्यापारी तथा व्यावसायीहरु पलायनसमेत भइरहेकोे बेला सुन्दरहरैँचा उद्योग वाणिज्य संघले पदस्थापन तथा सपथग्रहण कार्यक्रम महँगो होटलमा गरिएपछि त्यस्तो आलोचना भएको हो । 

वाणिज्य संघले आइतबार विराटचोकको नेपालीरिका हाेटलमा भब्य कार्यक्रम बीच नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम आयोजना गरेको थियो ।

पदस्थापन तथा सपथग्रहण कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल आउने कार्यक्रम बनाइएको थियो ।  तर उनी आउन भ्याएनन् । त्यसैले सार्क चेम्बर अफ कर्मसका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डीराज ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम गरियो । कार्यक्रममा उद्योग वाणिज्य संघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदार प्रसाद गुरागाई, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यहरु,  विभिन्न जिल्ला , नगर उद्योग वाणिज्य संघका पदाधिकारी,  राजनैतिक दलका प्रतिनिधि , विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति थियो । कार्यक्रममा प्रमुख अतिथि ढकालले सुन्दरहरैँचा उद्योग वाणिज्य संघ जस्तो महत्त्वपूर्ण संस्थाले गरेका काम र यहाँको राजनीति, सामाजिक एकता  देखेर अरूले पनि  सिक्नुपर्ने बताए ।  

कार्यक्रममा व्यापारी व्यवसायीको न्यून उपस्थिति 

कार्यक्रममा व्यापारी तथा व्यवसायीहरु भन्दा पनि निर्वाचित पदाधिकारी, उनीहरूकै पारिवारिक सदस्य तथा आफन्त र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति थियो । विराटचोककी एक कस्मेटिक ब्यापारीले भनिन् "सबै व्यापारीहरुलाई बोलाइएको होला भनेर कार्यक्रममा गएकी थिए तर,त्याहाँ उद्योग वाणिज्य संघका पदाधिकारीहरुको कपल्स मात्र देख्दा आफुलाई अलिक अनौठो लाग्यो।" वास्तवमा व्यापारीकै हकहितमा काम गर्ने संस्था ,तिनै व्यापारी व्यावसायीहरुबाट बनेको प्रतिनिधिहरुले आयोजना गरेको कार्यक्रममा व्यापारी व्यावसायीहरुलाई नबोलाइएको भन्दै  व्यापारीहरुको व्यापक गुनासो छ ।  

 व्यापारी व्यासायीहरुको भन्दा जेसिजले गर्ने जस्तो कार्यक्रम भएको व्यापारीको भनाइ छ । उता उद्योग वाणिज्य संघका उपाध्यक्ष डोलेश्वर तिम्सिनालाई  व्यापारी व्यसायीहरुलाई किन बोलाइएन भनेर सोध्दा उनले आफु नजिकका यसो आठ दशजनाको दरले बोलाउने भनेर कुरा भएको र बोलाइएको बताए ।

सुकिला मुकिला व्यक्तिहरुको मात्रै जमघट गरिएको गुनासो 

नुन बेच्नेदेखि सुन बेच्नेसम्मको प्रतिनिधि हुनुपर्ने उद्योग वाणिज्य संघको कार्यक्रममा सुकिला मुकिला र हाइफाई प्रोफाइल व्यक्तिहरुको जमघट जस्तो मात्र देखिएको भन्दै व्यापारीहरुले नै दुखेसो पोखेका छन् ।

स्थानिय उधोगी व्यवसायी सुरेशकुमार श्रेष्ठले व्यापारी व्यावसायीहरुको जीवनस्तरलाई  स्टार बनाउन नसक्ने संघले टीके  र मनोनित गरेका पदाधिकारीहरुको सपथ र पदस्थापन लाखौं खर्च गरेर स्टार होटलमा गरिएको भन्दै फेसबुकमा लेखेका छन्  " घर भाडा , बैंकको चर्को ब्याज र चरम आर्थिक मन्दीले सटर बन्द गरेर भाग्नु पर्नेअवस्था गुजारेका तमाम व्यापारीको आश र भरोसा माथि कुठाराघात समेत गरेको स्पष्ट छ।"

त्यस्तै राप्रपाका नेता समेत रहेका सुन्दरहरैंचाकै जय सिटौलाले लेखेका छन् " व्यापारीको पैसाले होटलको मोज मस्ती राम्रै चलन हो, जुन जोगी आए पनि कानै चिरेको ।"त्यसैगरी कुमार श्रेष्ठले सुन्दरहरैँचा उधोग बाणिज्य संघको पदस्थापन आफ्नै भवनमा गरेको भए राम्रो हुन्थ्यो भन्ने बिचार व्यक्त गरेका छन् ।

सदस्यता बापत उठाइने रकमबाट एक रुपैयाँ पनि खर्च नहुने अध्यक्षको जिकिर 

 सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले भने संस्थाको सपथ र पदस्थापन कार्यक्रम खर्चिलो देखिए पनि स्पोन्सर र सहयोग जुटाएर कार्यक्रम गरिएको र सदस्यता बापत उठाइने एक रुपैयाँ पनि खर्च नहुने बताए । नेपालीरिका होटल पनि सुन्दरहरैँचाको एक गहना भएको भन्दै कार्कीले त्यसको प्रबर्द्धन गर्न पनि त्यहाँ कार्यक्रम गरिएको बताए  । साधारणसभा गर्ने दायित्व संस्थाको पुरानै समितिको भएकोले पुर्व अध्यक्ष उद्योगी भोला दुलालले कार्यक्रमका लागि १ लाख रुपैयाँ र पदाधिकारी तथा व्यापारी व्यावसायीले पनि कन्ट्रीब्युट  गरेको र सबै सहयोग आम्दानी मानेर रसिद काटिएको उनले बताए ।  व्यापार संघको लागि होटलको हल फ्री गरिएको र खाना खर्च पनि न्युनतम लिइएको उनले बताए । "महँगो होटलमा कार्यक्रम गरियो भनेर कतिपयले जुन रुवाबासी चलाएका छन्, त्यो हेर्दा रोडमै कार्यक्रम गर्नुपर्ने जस्तो देखिएको छ" कार्कीले भने ।

May be an image of 1 person, bird of paradise flower and daisव्यापारी व्यावसायीहरु नबोलाइएको भन्ने गुनासो बारेमा  अध्यक्ष कार्कीले सबैलाई फेसबुक मार्फत निमन्त्रणा गरिएको र रेकर्डमा मोबाइल नम्बर भएका ६ सयभन्दा बढीलाइ एस एम एस गरिएको दाबी गरे । 

हाल व्यापारी व्यावसायीहरुबाट सदस्यता शुल्क उठाउने अबस्था पनि नहुँदा उद्योग बाणिज्य संघमा कार्यरत कर्मचारीलाई  तलब खुवाउन पनि नसक्ने अबस्था भएको तर,कार्यक्रममा उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डीराज ढकाल र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल समेत आउने कार्यक्रम तय भएपछि गरिमा र इज्जत जोगाउन नेपालीरिका होटलमा कार्यक्रम गरिएको  कार्कीले बताए । उद्योग वाणिज्य महासंघ मार्फत दाताले वातावरण शिर्षकमा ५५ करोड दिएकोले सो रकमबाट सार्वजनिक शौचालय निर्माण लगायतका लागि बजेट भित्र्याउन महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई समेत बोलाइएको तर कारणबस उनी आउन नसकेको कार्कीले बताए । ढकाल संचालक रहेको ग्लोबल आइएमइ बैंकले समेत सामाजिक दायित्व अन्तरगत सुन्दरहरैँचामा बजेट भित्र्याउन पहल गरिएको उनले बताए । 

No description available.यस्तो छ नयाँ समिति 

करिब एक महिनाअघि भएको साधारणसभाले अध्यक्ष नारायण कार्कीकाे नेतृत्वमा सबै पद सर्वसम्मत चयन भएको  थियो । नयाँ समितिमा वरिष्ठ उपाध्यक्ष ज्ञानप्रसाद ढकाल चयन भएका छन् । उपाध्यक्षमा डोलेस्वर तिम्सिना , नगेन्द्र दाहाल, उज्वल थापा, डिल्ली प्रसाद ढकाल, महासचिव :हरि कार्की, उपमहासचिव रामकृष्ण खड्का, सचिव शारदाप्रसाद ढकाल, रामकुमार बस्नेत (विप्लव) , मनोज गुरागाई र नायक धमला चयन भएका छन् । 

यसैगरी सदस्यहरूमा गोपाल फुयाल, मोहन पोख्रेल, नवराज खरेल, माधव सिवा, टीका कडेल, प्रदिप मास्के, गिता चापागाईं, अनिता अधिकारी, पदमा बजगाई,आकाश दुलाल, सुजाता पौडेल, कृष्णप्रसाद पराजुली, सुरेश रेग्मी छन्  । यस्तै लेखा संयोजकमा रुद्र थापा र लेखा सदस्य कृष्णप्रसाद आचार्य, धरणीधर दाहाल चयन भएका छन्  । निर्वाचित सबैलाई निर्वाचन समिति संयोजक रामप्रसाद गजुरेलले सपथ गराएका थिए  ।  

सुन्दरहरहरैँचा क्षेत्रमा ३ हजार भन्दा धेरै सदस्य रहेका भएपनि याे संस्थामा  एक हजार ३ सय २८ जना उद्योगी, व्यापारी तथा व्यवसायी सदस्य छन् । 

दुई नगरपालिका एक बन्यो तर एक बनेन उद्योग बाणिज्य संघ 

त्यसो त सुन्दरहरैँचा नगरपालिका क्षेत्रमा दुईवटा उद्योग वाणिज्य संघ कृयाशील छन् । यस नगर क्षेत्रमा सुन्दरहरैँचा उद्योग वाणिज्य संघ र सुन्दरदुलारी उद्योग वाणिज्य संघ छन् । सुन्दरदुलारी र कोशीहरैचा दुइ नगरपालिका मिलेर हालको सुन्दरहरैचा नगरपालिका बनेको छ तर सुन्दरहरैंचा नगरपालिका क्षेत्रमा रहेका दुई वटा उद्योग वाणिज्य संघहरु एक हुन नसक्दा मोरङको सुन्दरहरैँचाका व्यापारी व्यावसायीहरु बिभाजित छन् ।

No description available.

No description available.