काठमाडौं । संचारकर्मी शिवेन्द्र रोहिताको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । शनिबार बिहान धनुषको जनकपुरधाम उपमहानगरपालिका-९ थापाचोकमा मोटरसाइकललाई स्कारपियोले ठक्कर दिँदा पत्रकार रोहिताको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय धुनषाकाअनुसार बिहान ३ बजेतिर पूर्वपश्चिमतर्फ आइरहेको बा २१ च ३३४३ नम्बरको कारले विपरीत दिशामा रहेको रोहिता सवार प्रदेश-२-०२-००२ प ५६९४ नम्बरको मोटरसाइकलमा ठक्कर दिएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएको शहिदनगर नगरपालिका-८ का ३२ वर्षीया रोहितालाई प्रादेशिक अस्पतालको चिकित्सकहरूले बिहान ३ बजेर २८ मिनेट जाँदा मृत घोषणा गरेका थिए ।
प्रहरीकाअनुसार मोटरसाइकल चालक जनकपुरधाम उपमहानगरपालिका-२ मा डेरा गरी बस्ने २५ वर्षीय जयनाथ यादव घाइते भएका छन् । उनको जनकपुरस्थित सीता अस्पतालमा उपचार भइरहेको छ । प्रत्यक्षदर्शीहरूले मोटरसाइकल यादवले चलाएको भनेपनि सिसिटिभी हेरेर थप अनुसन्धानको भइरहेको धनुषाका प्रहरी उपरीक्षक (एसपी) भुवनेश्वर तिवारीले जानकारी लिए ।
ठक्कर दिने स्कारपियो प्रहरी नियन्त्रणमा छ भने चालक शहिदनगर नगरपालिका-५ का २८ वर्षीय मनोज शाहलाई पक्राउ गरी सोधपुछ गरिरहेको एसपी तिवारीले बताए । उनकाअनुसार स्कारपियोमा चालकसहित ४ जना सवार थिए । रोहिता मकालुखबरका मधेश प्रदेश संवाददाता थिए ।



















