तेहरान : इरानका राष्ट्रपति इब्राहिम रायसी हेलिकप्टर दुर्घटना भएको घन्टासम्म पनि बेपत्ता छन् । आइतबार साँझ इरानको पूर्वी अजरबैजान प्रान्तमा राईसी सबार  हेलिकप्टर दुर्घटनामा परेको थियो । इरानी अधिकारीहरुका अनुसार उद्धार टोलीले रातिदेखि नै  हेलिकप्टरको खोजी गरिरहेको छ तर अहिलेसम्म सफल हुन सकेको छैन । हेलिकप्टरमा सवार यात्रुको अवस्थाबारे अझै केही जानकारी आएको छैन । इरानी समाचार एजेन्सी इरनाका अनुसार हेलिकप्टरमा रायसीका साथ इरानी विदेशमन्त्री हुसेन अमिर अब्दुल्लायान र पूर्वी अजरबैजानका गभर्नर मलिक रहमातीलगायत रहेका थिए । पहाडी भूभाग र खराब मौसमका कारण उद्धार टोलीलाई उद्धार गर्न निकै कठिनाइ भइरहेको छ ।

इरानी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति इब्राहिम रायसी आइतबार अजरबैजानसँगको सीमामा रहेको बाँधको उद्घाटन गर्न गएका थिए । उक्त समारोहमा अजरबैजानका राष्ट्रपति पनि सहभागी थिए । कार्यक्रमबाट फर्कने क्रममा इरानको पूर्वी अजरबैजान प्रान्तको वर्जकान क्षेत्रमा अवतरण गर्ने क्रममा राईसीको हेलिकप्टर दुर्घटनामा परेको थियो । इरानका गृहमन्त्री अहमद वाहिदीले सरकारी टेलिभिजनलाई राष्ट्रपतिको हेलिकप्टरले कडा अवतरण गरेको बताए।

रातभरको अपरेशनका क्रममा हेलिकप्टर पत्ता लाग्न सकेको छैन ।

राष्ट्रपतिको हेलिकप्टरको खोजीमा दर्जनौं उद्धार टोली खटाइएको छ । हेलिकप्टरमा सवार दुई जनासँग सम्पर्क स्थापित भइसकेको अधिकारीहरुले बताएका छन् तर घण्टौंको अपरेशनपछि पनि उद्धार टोली दुर्घटनाग्रस्त हेलिकप्टरसम्म पुग्न सकेको छैन । इरानको रेड क्रिसेन्ट सोसाइटीले उक्त क्षेत्र पहाडी भएको र मौसम पनि निकै खराब भएकाले उद्धार टोलीलाई सञ्चालनमा निकै कठिनाइ भइरहेको जनाएको छ । पूर्वी अजरबैजान, तेहरान, अल्बोर्ज, अर्दाबिल, जान्जान र पश्चिम अजरबैजान प्रान्तबाट ४६ उद्धार र खोज टोली परिचालनमा मद्दत गर्न पठाइएको रेड क्रिसेन्टले जनाएको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले आइतवार राती एक बिज्ञप्ति घोषणा गर्दै  हेलिकप्टरको संकेत र चालक दलका एक सदस्यको फोनबाट हेलिकप्टरको सही स्थान निर्धारण गरेको छ, IRNA ले रिपोर्ट गरेको छ। रेड क्रिसेन्ट सोसाइटीका प्रमुख पिर हुसेन कुलिभन्दले उद्धार टोलीले खोजी कार्यका लागि ड्रोन पनि प्रयोग गरेको तर मौसमले हवाई खोजी गर्न असम्भव बनाएको बताए। उक्त क्षेत्रमा पुगेपछि उद्धार टोलीले सवारीसाधनलाई अगाडि बढ्न मुस्किल भएको पाएपछि टोली पैदलै अघि बढेको थियो ।

इरानी स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनास्थल पूर्वी अजरबैजानको उजी र पिर दाउद गाउँको बेइज डिज्मार क्षेत्रमा भएको मानिन्छ जुन जंगली क्षेत्र हो। क्षेत्रमा बाक्लो कुहिरो छ, जसका कारण उद्धार कार्यमा कठिनाई भइरहेको छ । इरानका स्वास्थ्य मन्त्री बहराम एनोल्लाहीले आइतबार दुर्घटनास्थलमा बाक्लो कुहिरो भएकोले उद्धारकर्मीलाई खोजी गर्न कठिन भएको बताए ।

रायसीको आधिकारिक इन्स्टाग्राम खाता र सरकारी टेलिभिजनले इरानीहरूलाई राष्ट्रपति र उनका साथीहरूको लागि प्रार्थना गर्न अपील गरेको छ। इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनीले पनि राष्ट्रपतिको फिर्ताको लागि प्रार्थनाको लागि अपील गर्दै भने, "सबैले इरानी राष्ट्रको सेवा गरिरहेका यी मानिसहरूको स्वास्थ्यको लागि प्रार्थना गर्नुपर्छ। इरानका जनताले चिन्ता गर्नुपर्दैन। तिनीहरू देशको काममा छन्।" कुनै अवरोध हुनेछैन। एजेन्सी