विराटनगर ।  मोरङ कारागारका एक जना कैदीको मंगलबार विराटनगरमा मृत्यु भएको छ । लागूऔषध मुद्दामा अदालतबाट दोषी ठहर भएका कैदीको मृत्यु भएको ।

जिल्ला कारागार मोरङका जेलर चेतराज बरालका अनुसार मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का ३९ वर्षीय धनबहादुर थापाको मृत्यु भएको हो । थापालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको जानकारी बरालले दिए । खाना खाएर बसेका बेला बिहान ११ः४५ बजेतिर अचानक बेहोस भएर थापा ढलेका थिए । जेलर बरालका अनुसार तत्काल एम्बुलेन्समा राखेर उपचारका लागि अस्पताल लगिए पनि उनलाई बचाउन सकिएन । 

मृतक थापालाई मुटु रोग सम्बन्धी पुरानै समस्या रहेको उनले बताए । यसअघि पनि उपचारका लागि बारम्बार अस्पताल लैजाने गरिएको र थापाले नियमित औषधि सेवन गरिहरको जानकारी बरालले दिए । 

थापालाई लागूऔषध मुद्दामा जिल्ला अदालत मोरङले २०८० फागुन १० गते दोषी ठहर गरेको हो । अदालतले उनलाई २ वर्ष कैद सजायको फैसला गरेको थियो । तर, त्यसअघि २०८० असोज १७ गते थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिँदै अदालतले उनलाई कारागार चलान गरेको थियो । अदालतको फैसालअनुसार सजाय भुक्तान गरिरहेका थापाको अचानक मृत्यु भएको हो । 

मोरङ कारागारमा मंगलबारसम्म १ सय जना महिला र बालबालिकासहित १ हजार २९ जना कैदीबन्दी रहेको बरालले बताए । कारागारको क्षमता २ सय ५० जनाको हो । तर, क्षमताभन्दा ४ गुणा बढी राख्ने गरिएको छ । कारागारमा अत्यधिक चाप र व्यवस्थापन फितलो हुँदा कैदीबन्दीले अनेक समस्या झेलिरहेका छन् । कैदीबन्दीलाई सुत्न, खान र बस्नसमेत समस्या भइरहेको छ ।