काठमाडौं - कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा लगिएको छ । कार्यकक्षबाटै मं‌गलबार साँझ पक्राउ परेका सिरोहियालाई धनुषा लगिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए । एसपी रेग्मीका अनुसार ‘त्यहाँ भीडमा हामीले उहाँकै गाडीमा यहाँ ल्याएको  र अहिले प्रहरीको गाडीमा राखेर लगिएको छ।  उनलाई पक्राउ गर्न कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीसहितको टोली पुगेको थियो। 

सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै वैशाख १७ गते जाहेरी परेको थियो। दोहोरो नागरिकता रहेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो। जाहेरी परेसँगै जिल्ला प्रहरी कार्यालय धनुषाले मंगलबार नै जिल्ला अदालत धनुषाबाट पक्राउ अनुमति लिएको थियो। 

पक्राउ गर्न जिल्ला न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले पुर्जी जारी गरेका थिए। यसअघि जाहेरी परेको खबर बाहिरिएपछि सिरोहियाले विज्ञप्ति जारी गरेका थिए।

उनले राज्यले २०३३/२०३४ सालमा संकलन गरेको अभिलेखका आधारमा २०३६ सालमा १८ वर्ष पुगेर पहिलो नागरिकता लिएको उल्लेख गरेका थिए। त्यस्तै २०५७ सालमा त्यसको प्रतिलिपि लिएको तर दुइटा नागरिकता नलिएको भन्दै विज्ञप्ति जारी गरेका थिए।

सिरोहियाले आफूविरूद्ध जाहेरी परेपछि सर्वोच्चमा निषेधको आदेश माग गर्दै रिटसमेत दायर गरेका थिए। त्यसको अर्को पेशी जेठ १४ गतेका लागि तोकिएको छ।

यस्तै बुधबार मात्रै पनि सर्वोच्चमा पक्राउ आदेश बदर गरिपाऊ भन्दै रिट निवेदन दिएका थिए। यद्यपि उक्त रिट मंगलबार दर्ता भएको छैन। पक्राउ परेपछि सिरोहियाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि २ वटा पासपोर्ट प्रयोगको मुद्दा रेहेको भन्दै उनीविरुद्ध पनि भोलि पक्राउ पुर्जी जारी हुने आशा रहेको बताएका छन्।