काठमाडौं— नेपाली कांग्रेसका नेता नैनसिंह महरले सहकारी हिनामिना प्रकरणमा गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेको प्रत्यक्ष संलग्नता देखिएको बताएका छन्  ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता महरले एउटा, दुइवटा मात्रै नभएर दर्जनौ प्रमाणहरु गृहमन्त्रीविरुद्ध भएको दाबी गरेका हुन्  ।

विगतमा पनि बहालवाला मन्त्रीमाथि प्रश्न उठ्दा छानबिन गरेर दोषी सावित भए राजीनामा दिएको अवस्था भएकाले अहिले गृहमन्त्रीमाथि सोहि प्रक्रिया हुनुपर्ने र दोषी भए पदबाट राजीनामा दिनुपर्नेमा नेता महरले जोड दिए ।

उच्च पदको व्यक्ति नै यति ठुलो प्रकरण्मा दोषी भएको अनेकौ प्रमाणहरु सार्वजनिक हुँदा र छानबिन गर्न सरकारले नमान्दा यसले अन्तरािष्ट्रय स्तरमा देशको प्रतिष्ठामाथि आँच पु¥याएको तर्क गरे । न्याय दिने पदका मन्त्रीबाटै जनता ठगिइनु दुःखद भएको र भोलिको दिनमा आसा गर्ने ठाउँ नै नरहेको पनि नेता महरको भनाइ छ ।

पीडितको पक्षमा बोल्नु र न्याय दिनुको साटो उल्टै ठगी र भ्रष्टाचारीलाई जोगाउनमा सरकार लागिरहेको आरोप लगाउँदै उनले सहकारी पीडितले न्याय नपाएसम्म आफूहरुको अवरोध जारी नै रहने स्पष्ट पारे ।

सहकारीको रकम अपचलन गरेको आरोपमा गृहमन्त्री लामिछानेमाथि छानबिनको माग गर्दै प्रतिपक्ष दलले विरोध गरिरहेको छ भने सत्तापक्षले समिति गठन गर्ने कुरामा अस्विकार गरिरहेको छ । सत्ता र प्रतिपक्षको टकरावका कारण संसद लगातार अवरुद्ध भइरहेको छ ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची रहेको हिजोको संसद बैठक प्रतिपक्षको अवरोधका कारण कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । संसदको अर्को बैठक भोलि बिहान ११ बजेका लागि बोलाएको छ भने प्रतिपक्षले छानबिन समिति नबनेसम्म अवरोध जारी राख्ने चेतावनी दिइरहेको छ ।