काठमाडौं — नेकपा एकीकृत समाजवादी निकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठन नेपालले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ ।

नेपाल पत्रकार महासंघले गैर पत्रकारहरूलाई समेटेर पत्रकारहरूको सदस्यताको अन्तिम नामावली प्रकाशित गरेको आरोप लगाउँदै सोमबार तालाबन्दी गरेको हो ।

समाजवादी प्रेस संगठनले उक्त खारेजीको माग गर्दै सोमवार सञ्चारग्रामस्थित महासंघको केन्द्रीय कार्यालयको मुलगेटमा तालाबन्दी गरेको संगठनका अध्यक्ष विश्वमणि सुदेवीले जानकारी दिए ।

गत जेठ ८ गतेको सहमति विपरित महासंघले गैर पत्रकारहरूलाई समेटेर महासंघको आगामी जेठ २६ गते हुने निर्वाचनलाई प्रभावित गर्नेगरी सो सदस्यता नामावली छापामार शैलीमा ल्याइएको त्यसको खारेजीको माग गरिएको अध्यक्ष सुदेवीले बताए ।

उनले सो सदस्यता न्यायोचित नहुँदासम्म आफूहरूले महासंघको आगामी निर्वाचनको काममा अवरोध ल्याउने खालको गतिविधिलाई अघि बढाउने चेतावनी पनि दिए ।