काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको सामूहिक छलफलमा भाग लिन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बुढानिलकण्ठ पुगेका छन् ।
सत्ता गठबन्धनमा रहेको दलका अध्यक्ष नेपाल प्रतिपक्षी दलको छलफलमा भाग लिन पुगेपछि बुढानिलकण्ठमा खुसीयाली छाएको छ । बालुवाटार केन्द्रीत सत्ता गठबन्धनमा तरंग सृजना भएको छ ।
नेपाल गठबन्धन फेर्न तिर लागे भने संघीय सरकार, कोशी प्रदेश सरकार, बागमती सरकार, मधेश, सुदुरपश्चिम लगायतका सरकारमा प्रत्यक्ष असर पर्ने र समिकरण नै बदलिने प्रवल सम्बावना छ ।
अहिले संघीय सरकारमा रहेको नेता नेपालको पार्टीले सुदुरपश्चिममा मुख्यमन्त्री पाएको छ । हाल सत्ता गठबन्धनमा रहेका भएपनि नेपाल र उनका पार्टीका केही नेता खुसी छैनन् ।
सत्तारुढ दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा खेलिरहेको भूमिकाप्रति उनी असन्तुष्ट बनेका हुन्। सुदरपश्चिममा एकीकृत समाजवदीबाट दीर्घ सोडारी मुख्यमन्त्री बनेका छन्। तर, एमालेकै कारण मुख्यमन्त्री सोडारीले मन्त्रिपरिषद् विस्तारसमेत गर्न सकेका छैनन्।
सुदूरपश्चिम सरकार माधव नेपालका लागि निल्नु न ओकल्नुको भएपछि देउवासँग केन्द्र र प्रदेशको समेत सम्भावित समीकरणबारे छलफल गरेको स्रोतको भनाइ छ। उनी एकातिर गठबन्धनमा सन्तुष्ट छैनन् भने अर्कातिर उनले लिएको स्टेपले गर्दा उनको पार्टीमा नै चर्को विग्रह भित्रिएको छ ।
पार्टी केन्द्रीय समिति बैठकमा नै नेताहरुले वर्तमान गठबन्धन तोड्न नहुने र तोडेर कांग्रेससँग मिल्न गएमा पार्टी विभाजन पनि हुनसक्ने चेतावनी दिएका छन् । नेता नेपाल आज बुढानिलकण्ठ प्रवेश गरेलगत्तै एकीकृत समाजवादीका पदाधिकारी तहका एक नेताले अध्यक्ष नेपालको कदमले पार्टी भित्र गम्भिर विग्रह ल्याउन सक्ने चेतावनी दिए ।
बुढानिलकण्ठ बैठकमा मधेश प्रदेशमा वैकल्पिक गठबन्धनको सरकार बनाउनेसहित समसामयिक राजनीतिक विषयहरुमा छलफल भएको लोसपाका नेता शरतसिंह भण्डारीले जानकारी दिए । उनले अहिलेको पछिल्लो सम्पूर्ण राजनीतिक घटनाक्रमका विषयमा छलफल गरेकाे र छलफललाई अझै निरन्तरता दिने कुरा भएको बताए । उनका अनुसार छलफलमा सहकारी ठगी प्रकरणका विषयमा समेत छलफल भएको छ ।
केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि मधेशमा पनि मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा छन् । यादवले विश्वासको मत लिने तयारी गरिरहेका बेला जसपा नेपालले कांग्रेससहित अन्य दलसँग मिलेर सरकार बनाउने प्रयास गरिरहेको हो ।



















