काठमाडौं । फिफा विश्वकप २०२६ दोस्रो चरण छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको दोस्रो लेगमा पनि नेपाली राष्ट्रिय फुटबल टोली पराजित भएको छ । साउदी अरबको प्रिन्स मोहम्मद विन फैद स्टेडियममा बिहीबार राति भएको दोस्रो लेगमा नेपाल यूएईसँग ४–० ले पराजित भएको हो । नेपाल पहिलो लेगमा यूएईसँग ४–० ले नै पराजित भएको थियो ।
विश्वकप छनोटमा लगातार पाँच खेलमा पराजित भएको नेपालले अंकको खाता खोल्न सकेको छैन । छनोटमा नेपालले १८ गोल खाँदा एक गोल पनि फर्काउन सकेको छैन । युएईका लागि हरिब अब्दुल्लाह सुहेलले दुई गोल गरअलि सलेह र अजेन मोहम्मदले समान एक गोल गरे । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका अजेन मोहम्म्दले खेलको ७४ औँ मिनेटमा गोल गर्दै युएईको अग्रता फराकिलो बनाएका थिए । त्यसअघि खेलको ५३ औँ मिनेटमा अलि सलेहको गोलमा नेपाल ३–० ले पछि प¥यो ।
पहिलो हाफको १२ औँ मिनेटमा हरिब अब्दुल्लाह सुहेलको हेडर गोलमा युएईले सुरुवाती अग्रता बनाएको थियो। अब्दुल्लाह एड्रिसको क्रसमा उनले आकर्षक हेडर गोल गरेका हुन् । त्यसको दुई मिनेटमा नै सुहेलले दोस्रो व्यक्तिगत गोल गर्दै युएईको अग्रता दोब्बर पारे । उनले अलि सलेहको पासमा बललाई पोष्टको जाली चुमाएका थिए ।
खेलको २१ औँ मिनेटमा मोहम्मद अब्बासको फितलो प्रहार गोलरक्षक तथा कप्तान किरण चेम्जोङले सहजै बचाए । २२ औँ मिनेटमा अल मन्सुरीको क्रस डिफेन्डर रोहित चन्दले क्लीयर गरे । खेलको ३७ औँ मिनेटमा सनिस श्रेष्ठको क्रस सन्जिवको हेडर क्रसबारमा लाग्दै फर्किएको बललाई अविशाल बस्नेतको हेडर क्रसबारमा लाग्दै बाहिरिदा नेपालले गोल फर्काउने सुन्दर मौका गुमायो ।
छनोट अन्तर्गत यमनविरुद्धको खेल पनि नेपालले साउदी अरबमा नै खेल्नेछ । यमनविरुद्धको दोस्रो लेग जेठ २९ गते हुनेछ । सो खेलपछि नेपालले विश्वकप छनोट यात्रा सकाउनेछ । नेपालले यसअघि रगंशालाकै खराब अवस्थाका कारण बहराइनसँगको दुवै खेल उस्कै मैदानमा खेलेको थियो । विश्वकप छनोटको समूह ‘एच’ मा रहेको नेपालले समूह चरणका पाँच खेलमा हार भोगेको छ ।



















