पथरी - मोरङको पथरी शनिश्चरे-२ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहले सुविधा सम्पन्न व्यवस्थित पौडी पोखरी सञ्चालनमा ल्याएको छ।
शुक्रबार पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्बापोले पौडी पोखरीको गेटमा रहेको रिबन काटेर पोखरी उद्घाटन गरेका हुन् ।
बालबालिका र वयस्कलाई छुटाछुट्टै दुई वटा पौडी पोखरी निर्माण गरेको वनका अध्यक्ष काबुल बहादुर मगरले जानकारी दिनुभयो । पौडी पोखरी ३ करोड ५५ लाखमा निर्माण सम्पन्न भएको सो हरियाली पब्लिक लिमिटेड कम्पनीका अध्यक्ष दिलबहादुर तामाङले जनाएका हुन्। उहाँले पर्यापर्यटनको विधानमा भए अनुरूप यो व्यवसायिक रूपमा संचालन गरिएको बताए। उहाँले यसलाई संचालन गर्दा यसको सम्पूर्ण आय आम्दानीको ६० प्रतिशत जनतामा पुग्ने जनाए।
सो हरियाली समुहमा विवाह, पार्टी, भोज, सांगीतिक, सांस्कृतिक कार्यक्रमको लागि एसीसहितको सभा हल चालु अवस्थामा रहेको छ ।
हाल पर्यपर्यटन विकासको लागि सामुदायिक वनको कार्य योजना र डीपीआर अनुसारको ३ वटा पोखरी निर्माण भइरहेको छ ।
सामुदायिक वनभित्र नेपालको आकारको बोटिङ पोखरी, गेष्ट हाउससहितको रेष्टुरेन्ट, बाल उद्यम, विज्ञान प्रदर्शनी, यलम्बरको मूर्ति, खुल्ला संग्रहलय, वन भोज स्थल, कार्यक्रम हल लगायतको डीपीआर सहित भौतिक संरचना निर्माण भइरहेको छ । कम्पनीमा हाल ८ सय ६१ जना शेयर सदस्य रहेको र पथरीशनिश्चरे नगरको लागि मात्र इच्छुकहरु नागरिकका लागि शेयर खुल्ला गरिएको जनाइएको छ ।
वि.सं. २०७६ मा नेपालकै उत्कृष्ट वन घोषणा हुँदै वैज्ञानिक वन व्यवस्थापनमा गणेशमान सामुदायिक वन पुरस्कार हरियालीले प्राप्त गरिसकेको सो हरियाली सामुदायिक वन समुहले संचालनमा ल्याइएको उक्त स्वीमिङका लागि बयस्कका लागि २सय र बालबालिकाको लागि एक सय प्रतिव्यक्ति शुल्क निर्धारण गरिएको छ । निर्धारित शुल्कमा हरियाली सामुदायिक वन र शेयर सदस्यहरुलाई २५ प्रतिशत छुट गर्ने कम्पनीको अध्यक्ष दिलबहादुर तामाङले बताए ।
पोखरीमा स्वीमिङ कष्टम, रिङटप, लाइभ ज्याकेट, लाइभ गार्ड रहेकोले पूर्ण सुरक्षा रहने छ । तुलनात्मक हिसावले अन्य पोखरीहरुमा भन्दा शुल्क सुपथ रहेको छ । पौडी (स्वीमिङ) यतिवेला मनोरञ्जनको लागि मात्र नभएर सिप (पौडी खेल्न सिक्ने), अत्याधिक गर्मी छल्न र व्ययमको लागि नियमित रुपमा खेल्न थालिएको छ । हरियालीले प्याकेजमा खैल्नेहरुका लागि मासिक, त्रैमासिक, अर्ध बार्षिक र बार्षिक रुपमा छुटमा कार्ड वितरण गर्ने समूहका अध्यक्ष काबुलबहादुर मगरले सुनाए।
उद्घाटन कार्यक्रममा हरियाली वन पब्लिक लि.का अध्यक्ष दिलबहादुर तामाङ, नौमती वाजा समूहका संयोजक दीपक ढुंगेल, आन्तरिक लेखापरीक्षण संयोजक रमेश प्रसाद दाहाल लगायतले शुभकामना व्यक्त गरेका छन् ।



















