विराटनगर —  कोशी प्रदेश सरकारले ३५ अर्व २७ करोड ९३ लाख रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।  कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले प्रदेश सभामा आर्थीक बर्ष २०८१/८२ का लागि १४ अर्व ४७ करोड २३ लाख रुपैयाँ चाल खर्चका लागि विनियोजन गरिएको बताए । उनले पूजीँगत तर्फ  १६ अर्व  २०करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।  

उक्त खर्चका लागि प्रदेश सरकारले ४ अर्ब ९८ करोड रुयैपाँ राजश्व मार्फत उठाउने लक्ष्य लिएको छ । यस्तै राजस्व बाँडफाँडबाट १२ अर्ब ४० करोड ८ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण ८ अर्ब ९४ करोड ३२ लाख, सशर्त अनुदान ४ अर्ब १६ करोड ४३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

यसैगरि समपुरक अनुदानबाट ६५ करोड ५० लाख र विशेष अनुदानबाट ७८ करोड १ लाख गरी ३१ अर्ब ९२ करोड ३४ लाख खर्च व्यहोरिने मगरले बताए । उनले बाँकी नगद मौज्दातबाट ३ अर्ब २५ करोड र वैदेशिक अनुदानबाट १० करोड ५९ लाख व्यहोरिने उहाँले बक्तव्यमा बताउनु भएको छ । 

 प्रदेश सरकारले पूर्वाधारका लागि १० अर्ब ४१ करोड बजेट विनियोजन मगरले बजेट वक्तव्यमा बताए । प्रदेश सरकारले आगामी बर्षका लागि  कृषिमा २ अर्ब ६७ करोड, खानेपानी तथा उर्जामा ४ अर्ब ७६ करोड, स्वास्थ्यमा ३ अर्ब ५८ करोड, सामाजिक क्षेत्रमा १ अर्ब ५८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यस्तै प्रदेश सरकारले पर्यटन, वन तथा वातावरण २ अर्ब ८२ करोड  शान्ति सुरक्षा, सूचना तथा संचारका लागि १ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ ।

बजेटका उद्देश्यहरुः

क.सरकारी, निजी र सहकारी क्षेत्रको लगानी मार्फत प्रदेशको दिगो, फराकिलो र समावेशी आर्थिक वृद्धि हासिल गर्ने।

ख‍.प्रदेशमा उपलब्ध स्रोत साधन र अवसरको न्यायोचित वितरण मार्फत समतामुलक समाजको निर्माणमा सहयोग गर्ने।

ग. भौगोलिक, धार्मिक एवं सांस्कृतिक विविधतालाई सम्बोधन गर्दै प्रादेशिक विकासमा सन्तुलन कायम गर्ने।

घ. पर्यटन, कृषि, उद्योग र सेवा क्षेत्रमा उत्पादन र उत्पादकत्वमा वृद्धि गरी रोजगारी सिर्जना गर्दै गरीबी न्यूनिकरण गर्ने।

ङ.संघीयता कार्यान्वयनको लागि संघ तथा स्थानीय तहसँगको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने ।

च.भ्रष्टाचारजन्य क्रियाकलापमा शुन्य सहनशीलताको नीति अंगिकार गरी सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो र सहज बनाइ सुशासन कायम गर्ने ।

 प्रस्तुत बजेटका प्राथमिकताहरु 

 पूर्वाधार विकास

 पर्यटन वन वातावरण संरक्षण

 कृषिको आधुनिकीकरण र व्यवसायीकरण

 स्वास्थ्य सेवा र सामाजिक विकास

 सहकारी र गरिबी निवारण

औद्योगीक विकास र निजी क्षेत्रको प्रवर्द्धन

 सार्वजनिक वित्तीय व्यवस्थापन

 सार्वजनिक सेवा प्रवाह र सुशासन

बजेटकाे पूर्णपाठ

प्रदेश सरकार

आर्थिक मामिला तथा योजना मन्त्रालय

कोशी प्रदेश, विराटनगर,२०८१

माननीय सभामुख महोदय,

१. कोशी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीको हैसियतले यस गरिमामय प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८१/08२ को आय र व्ययको विवरण प्रस्तुत गर्ने अनुमति चाहन्छु। प्रस्तुत बजेटलाई प्रदेशको दिगो आर्थिक वृद्धि हासिल गर्न कृषि, उद्योग र सेवा क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, शिक्षा स्वास्थ्य लगायत सामाजिक विकासका क्षेत्रमा लगानी वृद्धि गर्ने, भौतिक पूर्वाधार निर्माण र पर्यटन विकास गर्ने तथा सेवा प्रवाहलाई नागरिकमैत्री बनाई सुशासन प्रवर्द्धन गर्नेतर्फ परिलक्षित गरेकोछु।

२. यस अवसरमा म सर्वप्रथम राष्ट्रहित, लोकतन्त्र र अधिकार प्राप्तिका लागि भएका संघर्ष तथा आन्दोलनमा शहादत हुनु भएका ज्ञात अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु।

३. संघीय लोकतान्त्रिक गणतन्त्रले हामीलाई दिगो शान्ति, विकास, समृद्धि र सुशासनतर्फ अघि बढ्ने आधार दिएको छ। प्रदेशले अवलम्बन गरेको स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माण गर्ने सोच सहितको बहुआयामिक विकासलाई तीव्र रुपमा अघि बढाइने छ।

४. प्रदेश सरकारको क्षेत्राधिकार भित्र रही सम्भाव्य स्रोतको परिचालन एवं उच्चतम उपयोग गर्न विनियोजन दक्षता, कार्यान्वयन कुशलता र वित्तीय अनुशासन कायम गर्नु परेको छ। आर्थिक तथा सामाजिक पूर्वाधारको विकास गर्दै गरिवीको रेखामुनि रहेका नागरिकको विकास र समृद्धिको आकाङ्क्षा सम्वोधन गर्न उपलब्ध स्रोत र साधनलाई केन्द्रित गरेकोछु।

५. आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा मैले नेपालको संविधान, सोह्रौं आवधिक योजना र कोशी प्रदेशको दोस्रो आवधिक योजनाले लिएका सोच, लक्ष्य र उद्देश्य, सन् २०२६ मा विकासशील राष्‍ट्रमा स्तरोन्‍नतिको लागि लिनुपर्ने रणनीति, सन् २०३० सम्म हासिल गर्नुपर्ने दिगो विकास लक्ष्य प्राप्‍ति गर्ने सम्बन्धमा प्रदेशका तर्फबाट गर्नुपर्ने योगदान, नेपाल सरकारको नीति तथा कार्यक्रम, कोशी प्रदेश सरकारको यसै गरिमामय सदनमा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम समेतलाई आधारको रूपमा लिएको छु।

६. प्रदेश सभाको यसै अधिवेशनमा पेश भएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता उपर भएको छलफलमा माननीय प्रदेश सभा सदस्यहरुबाट प्राप्त सुझाव, स्थानीय तहका जनप्रतिनिधीहरु, निजी क्षेत्र, वुद्धिजीवी, पेशाविद्, उद्योगी व्यवसायी, सञ्चारकर्मी र आमनागरिकबाट प्राप्‍त रचनात्मक सुझाव समेतलाई समेटी आगामी आ.व.को बजेट तर्जुमा गरेकोछु।

माननीय सभामुख महोदय,

७.संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नेपालको संविधान बमोजिम 2074 सालमा प्रदेश सभाको पहिलो निर्वाचन भई प्रदेश सरकार स्थापना भएको छ वर्ष पूरा भएको र दोश्रो कार्यकालका लागि निर्वाचन सम्पन्न भई प्रदेश सरकार गठन भएको एक वर्षभन्दा बढी भइसकेको छ। पहिलो आवधिक योजना सफलतापूर्वक कार्यान्वयन भईसकेको र दोस्रो आवधिक योजना तर्जुमा भई आगामी आ.व. देखि लागू हुने चरणमा रहेको यस अवधिमा प्रदेशको आर्थिक तथा सामाजिक क्षेत्रमा हासिल भएका मुख्य उपलब्धि प्रस्तुत गर्ने अनुमति चाहन्छु।

८.आर्थिक वर्ष 2075/76 मा रु.5 खर्ब 99 अर्ब रहेको कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादन चालु आर्थिक वर्षमा रु.9 खर्ब 3 अर्ब रहने अनुमान छ। प्रदेशको प्रतिव्यक्ति आय अमेरिकी डलर 9 सय 34 बाट बढेर 1 हजार 3 सय 36 पुगेको छ। यस अवधिमा कोशी प्रदेशमा विद्युत उत्पादन 1 सय 21 मेघावाटबाट 5 सय 77 मेघावट पुगेको छ, भने 97.7 प्रतिशत जनसङ्ख्यामा विद्युत सेवाको पहुँच पुगेको छ। प्रदेशको वन क्षेत्र 43.2 प्रतिशतबाट बढेर 48.9 प्रतिशतमा विस्तार भएको छ।

९. "स्वच्छ, सुखी र समुन्‍नत प्रदेश" को दीर्घकालीन सोच एवम् "सामाजिक न्याय सहितको समुन्‍नत प्रदेश निर्माण हुने" समष्‍टिगत लक्ष्य लिएको प्रदेशको प्रथम आवधिक योजनाले तय गरेका ६६ वटा गन्तव्य सूचक र २३ वटा परिमाणात्मक लक्ष्यमध्ये 50 प्रतिशत सूचकहरुमा पूर्ण उपलब्धि हासिल भएको छ।

१०. कोशी प्रदेशमा 5 वटा बजेट कार्यान्वयन भईसकेका छन्। पूँजीगत खर्च गर्ने क्षमतामा अन्य प्रदेश भन्दा कोशी प्रदेश अगाडि नै रहेको छ। आर्थिक वर्ष २०७८/७९ मा विनियोजित पुँजीगत बजेटको ८९.८ प्रतिशत खर्च भएको थियो।

११. कोशी प्रदेशको सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ्ग ल्हामु गा.पा. र संखुवासभाको भोटखोला गा.पा. बाहेक सबै स्थानीय तहको केन्द्रसम्म सडक पहुँच पुगेको छ। प्रदेश सरकारले आर्थिक वर्ष 2075/76 देखि निर्माण सुरु गरेका 78 वटा बहुवर्षीय प्रादेशिक सडकमध्ये 22 वटा सम्पन्‍न भएका छन्। निर्माण सम्पन्‍न बहुवर्षीय सडकको 2 सय 98 किलो मिटर सहित जम्मा 5 सय 28 किलो मिटर सडक कालोपत्रे,  1 हजार 2 सय 57 किलो मिटर ग्राभेल, 1 हजार 1 सय 2 किलो मिटर कच्ची सडक र मर्मत तथा ट्रयाक ओपन सहित जम्मा 4 हजार 3 सय 66 किलोमिटर सडक निर्माण तथा स्तरोन्‍नति गरिएको छ। यस अवधिमा 80 वटा मोटरेवल पुल र 184 वटा झोलुङ्गे पुल निर्माण सम्पन्‍न भएको छ।

१२. प्रदेश सरकारबाट हालसम्म 33 वटा सरकारी भवन निर्माण, 105 वटा सामुदायिक भवन निर्माण, 11 वटा भ्यूटावर निर्माण, 18 वटा वसपार्क निर्माण, 46 वटा पार्क निर्माण र 54 वटा एकीकृत वस्ती विकास गरिएको छ। जनता आवास कार्यक्रमबाट आर्थिक रूपले विपन्‍न तथा लोपोन्मुख समुदायका 5 हजार 9 सय 10 वटा परिवारको आवास निर्माण सम्पन्‍न भएको छ।

१३.  विराटनगरको शहीद रंगशालामा फ्लडलाइट जडान, भोजपुर रंगशाला लगायत 50 वटा ठूला खेलपूर्वाधारहरु निर्माण सम्पन्‍न भएका छन्। यसैगरी मुन्धुम पदमार्ग लगायत महत्वपूर्ण पर्यटकीय पूर्वाधारहरु निर्माण गरिएको छ।

१४. नेपालको कृषि उत्पादनमा कोशी प्रदेशको हिस्सा सबैभन्दा बढी अर्थात् 21.6 प्रतिशत रहेको छ। प्रदेश सरकारबाट हालसम्म 24 वटा चिया प्रशोधन कारखाना स्तरोन्‍नति, 1 वटा चिया परीक्षण तथा प्रवर्द्धन केन्द्र निर्माण, 31 वटा खाद्यन्‍न भण्डारण गृह र खाद्यन्‍न सुकाउन 4 वटा ड्रायर पूर्वाधार निर्माण, 5 वटा बीउ प्रशोधन पूर्वाधारहरु, 28 वटा सुधारिएको अलैँची भट्टी निर्माणमा सहयोग गरिएको छ। साझेदारीमा धुलो दुग्ध कारखाना 2 वटा, पशुदाना उत्पादन उद्योग 2 वटा र 5 वटा प्राङ्गारिक मल उत्पादन कारखाना निर्माण गरिएको छ। कृषि उपज ढुवानीका 30 वटा ठूला तथा मध्यम सवारी साधनहरु अनुदानमा उपलब्ध गराइएको छ। यस्तै 54 वटा नमुना व्यवसायिक बाख्रा फर्म र 20 वटा पशु हाटबजार निर्माण गरिएको छ। आर्थिक वर्ष 2075/76 देखि 2079/80 सम्मको पाँच वर्षमा प्रदेश सरकारबाट कृषि उद्यमीहरुका लागि रु.4 अर्ब 73 करोड अनुदान उपलब्ध गराइएको छ।

१५. सरकार गठन भएपश्‍चात् स्वास्थ्य तथा सामाजिक क्षेत्रमा सुधार एवम् स्रोत र साधनको वितरणमा समानता तर्फ उन्मुख हुँदै गएको छ। नेपालमा निरपेक्ष गरिबीको रेखामुनीको जनसंख्या २०.27 प्रतिशत रहेकोमा कोशी प्रदेशमा गरिबीको रेखामुनि रहेको जनसङ्ख्या १७.२ प्रतिशत रहेको छ। प्रदेशबासीको औषत आयु ६८.६ वर्षबाट बढेर ७०.४  पुगेको छ। साक्षरता दर ७९.७ प्रतिशत पुगेको छ, भने प्रदेशका सबै जिल्लाहरु साक्षर घोषणा भएका छन्। प्रतिहजार जीवित जन्ममा नवजात शिशु मृत्युदर 22 रहेकोमा 19 मा झरेको छ, भने बालमृत्युदर 36 बाट 33 मा झरेको छ। कोशी प्रदेशका करिब 90 प्रतिशत जनसंख्यामा आधारभूत खानेपानी र 19 प्रतिशत जनसंख्यामा सुरक्षित खानेपानी सेवा पुगेको छ।

१६. सार्वजनिक क्षेत्रमा महिला लगायत सीमान्तकृत समुदायको सहभागिता बढेको छ। पछिल्लो निर्वाचनबाट कोशी प्रदेशका स्थानीय तहमा महिला प्रतिनिधित्व ४०.९  प्रतिशत रहेको छ। निजामती सेवामा महिला सहभागिता २८.५ प्रतिशत पुगेको छ। सहकारीमा शेयर सदस्यमध्ये ५८ प्रतिशत महिला सदस्य रहेका छन्। कोशी प्रदेशका 28.4 प्रतिशत महिलामा घर जग्गाको स्वामित्व रहेको छ।

१७.प्रदेश स्थापना भएदेखि हालसम्म जम्मा ६२  वटा ऐन, ६४ वटा नियमावलीहरू, १ वटा गठन आदेश, ३  वटा नीतिहरू र ७८६  वटा अन्य कानूनहरू तर्जुमा भएका छन्। प्रदेश लोक सेवा आयोगले स्थानीय सेवाको १  हजार ७ सय ५१ पदमा पदपूर्तिको लागि सिफारिस गरेको छ।

१८.विपद् व्यवस्थापनको लागि प्रदेशका १४ वटै जिल्लामा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र सञ्‍चालन गरिएको छ भने वारुणयन्त्र लगायतका उपकरण समेत हस्तान्तरण भएको छ। ८९  वटा प्रहरी भवन तथा ब्यारेक निर्माणको कार्य समेत प्रदेश सरकारबाट सम्पन्‍न भएको छ भने ११ वटा प्रहरी भवन निर्माणको क्रममा रहेकोछ।

१९. सार्वजनिक, निजी, सहकारी साझेदारी तथा लगानी प्रवर्द्धन गर्न स्थापना भएको प्रदेश लगानी प्राधिकरणबाट ९६ वटा परियोजनाको पूर्वसम्भाव्यता अध्ययन र १८ वटा परियोजनाको सम्भाव्यता अध्ययन सम्पन्‍न भएको छ। जस मध्ये भेडेटार स्काइवाक परियोजना सम्पन्न हुने चरणमा रहेको छ। लगानी स्वीकृतिको चरणमा रहेका ५ वटा परियोजना र वार्ता प्रक्रियामा ६  वटा परियोजना रहेका छन् भने ६  वटा परियोजनालाई तेस्रो राष्ट्रिय लगानी सम्मेलन (सोकेस) मा पठाइएको थियो।

२०.  प्रदेश सरकार गठन भएपछि विभिन्‍न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भए पनि जनताले प्रदेश सरकारसँग अपेक्षा गरे अनुसारको विकास हुन सकेको छैन। प्रदेशको अधिकारक्षेत्रको पूर्ण रुपमा उपयोग गर्ने गरी नीति, कानून तथा प्रशासनिक संरचनाको अपर्याप्तता, राजनीतिक संक्रमण, कोभिड-१९ को प्रभाव, स्रोत साधनको सीमितता, जनशक्तिको अभाव जस्ता कारणबाट प्रदेशको विकासको गति तीव्र हुन सकेन।

२१.राष्ट्रिय तथा प्रादेशिक आवधिक योजनाको लक्ष्य तथा दिगो विकास लक्ष्य हासिल गर्ने प्रतिवद्धतालाई समेत दृष्टिगत गरी आगामी आर्थिक वर्षमा आर्थिक सुधारलाई तीव्रता दिने नीति तथा कार्यक्रम प्रस्ताव गरेकोछु।