काठमाडौँ — नेकपा एकीकृत समाजवादीको महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदै छ । अधिवेशनको उद्घाटन बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा हुनेछ ।
महाधिवेशनले वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रम पारित गर्ने छ । महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ । नेताहरूले सकेसम्म सहमतिमा नभए लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्ने बताएका छन् ।
नयाँ नेतृत्वमा हालका अध्यक्ष माधव कुमार नेपाल र झलनाथ खनाल पक्षका घनश्याम भूसाल दाबेदार छन् ।
असार १६ देखि २० गतेसम्म काठमाडौँमा आयोजना हुने महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न सङ्गठनबाट एक हजार आठ सय प्रतिनिधि छानिएका छन् । यी प्रतिनिधिहरूले वरिष्ठ उपाध्यक्षसहित २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छन् ।
नेकपा एमालेबाट अलग भएर गठन गरिएको एकीकृत समाजवादीले पहिलो पटक महाधिवेशन गर्न लागेको हो ।



















