काठमाडौं — नागरिक उन्मुक्ति पार्टी (नाउपा) को संसदीय दलको नेता हेरफेर भएको छ । केन्द्रीय अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले गंगा चौधरीलाई दलको नेता चयन गरेका छन् ।

नाउपाका चार सांसदमध्ये तीन जनाले चौधरीलाई संसदीय दलको नेतामा चयन गरेका हुन् । नाउपाका चार सांसदमध्ये गंगा चौधरी, अरुण चौधरी र लालवीर चौधरी एकातर्फ उभिएपछि गंगा चौधरी अध्यक्षमा चयन भएका हुन् । योसँगै पार्टी अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठ भने संसदीय दलको नेताबाट हटाइएकी छन् ।

यससँगै उनी संसदीय दलमा एक्लिएकी छन् । गंगा चौधरी यसअघि नाउपाको प्रमुख सचेतक थिए । उनी संसदीय दलको नेता भएसँगै लालवीर चौधरीले प्रमुख सचेतकको जिम्मेवारी पाएका छन् । लालवीर नाउपाका संरक्षक समेत रहेका रेशमलाल चौधरीका बाबु हुन् ।

दलको आइतबार बसेको बैठकले रञ्जितालाई दल नेताबाट हटाउने निर्णय गरेको हो। सोमबार १० बजे त्यसको जानकारी संसद् सचिवालयलाई गराउने तयारी रहेको एक सांसदले बताए।

नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीच विवाद छ। उनीहरूबीचको विवाद बीचमा मत्थर देखिए पनि पुनः सतहमा आएको हो। यसअघि पनि संरक्षक चौधरीले रञ्जितालाई दलको नेताबाट हटाउन खोजेका थिए।

यसबीचमा नाउपा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने चर्चा चलेको थियो। अध्यक्ष रञ्जिता सरकारमा जाने तयारी भइरहँदा बहुमत सदस्यले दलको नेता फेरबदल गर्ने निर्णय गरेका  छन्।