काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको सहकार्यमा आफ्नो नेतृत्वमा अब गठन हुने सरकार देशका समस्या समाधान गर्दै जनतामा आशा जगाउने काममा केन्द्रित हुने बताएका छन् ।

एमाले केन्द्रीय विभागका प्रमुख तथा सचिवहरूको बैठकलाई पार्टी कार्यालय, च्यासलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले दुई ठूला दल मिलेर बनाउने अबको सरकारलाई असफल हुने छुट नभएको प्रष्ट पारे ।

अध्यक्ष ओलीले कतिपय कम्युनिष्ट हुँ भन्ने नेताहरू केपी ओलीलाई प्रधानमन्त्री बन्न दिनुहुँदैन भनेर हात धोएर लागिरहेको बताए। उनले भने, ‘तर, सरकार परिवर्तन हुन्छ, हामी सरकारमा हुन्छौँ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिको नाममा नेपाली कांग्रेसलाई सरकारमा भित्र्याउने र एमालेलाई गतवर्ष जस्तै सरकारबाट बाहिर निस्कन बाध्य पार्ने योजनाका साथ अगाडि बढेपछि अहिलेको नयाँ परिस्थिति सिर्जना भएको स्पष्ट गर्दै अध्यक्ष ओलीले दुई ठूला दल नयाँ समीकरणका लागि समझदारी गरिसकेको परिस्थितिमा प्रधानमन्त्रीले विश्वासको मत लिने कुरा हास्यास्पद भएको बताए।

अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई अत्यन्त उदारमनका साथ प्रधानमन्त्री बनाइएको बताए। उनले एमाले सरकारमा सहभागी भन्दा पनि सहयोगीको रुपमा मात्र उपस्थिति भएर सहयोग गरेको चर्चा गर्नुभयो । अध्यक्ष ओलीले अनेक प्रयास गर्दा पनि देशले भोगिरहेका समस्या समाधान गर्ने दिशामा सरकारबाट ठ्याक्कै केही नभएको बताए ।

अध्यक्ष ओलीले सरकारले विभिन्न क्षेत्रमा गर्नुपर्ने सुधारका लागि समाधानसहितका ठोस सुझाव दिन विभागहरूलाई निर्देशन दिए ।

अध्यक्ष ओलीले पार्टीको नेतृत्वमा सरकार बने पनि सरकारको काम र पार्टीको योजना फरक विषय भएकाले पार्टी निरन्तर मिसन-२०८४ मा लाग्ने स्पष्ट गर्दै मिसन-२०८४ सफल पार्ने कुरा प्रमुख भएकाले सरकारमा रहेका कारण यस अभियानलाई कुनै पनि हालतमा कमजोर र शिथिल पार्न नहुने बताए ।