काठमाडौं — सत्ता सहकार्यको सहमति गरेका एमाले र कांग्रेसका नेताहरू मन्त्रिपरिषद्मा कसलाई पठाउने भन्ने विषयमा आन्तरिक छलफलमा जुटेका छन् । एमाले र कांग्रेसका बीचमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्न भएको सहमतिलाई दुवै दलले अनुमोदन गरिसके पनि मन्त्रीहरूको नाम भने टुंगो लाग्न सकेको छैन । ओली र देउवाका बीचमा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको छ । सहमतिनुसार सुरुमा ओली प्रधानमन्त्री हुने र त्यसपछि चुनावी सरकारको नेतृत्व देउवाले गर्नेछन् ।
एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवा नयाँ सरकारमा उपप्रधानमन्त्री नराख्नेमा सहमत छन् । उपप्रधानमन्त्री भइसकेका व्यक्तिलाई मन्त्रिपरिषद्मा समेट्दा दोस्रो तहका नेताहरूको लर्को देखिने भएकाले पनि दुवै नेता अनिच्छुक देखिएका छन् । एमालेले प्रधानमन्त्रीसहित ९ मन्त्रालय र कांग्रेसले १० मन्त्रालय पाउनेगरी भागबन्डा भइसकेको छ ।
मन्त्रीका आकांक्षी पार्टीभित्र धेरै देखिएको भन्दै त्यसको अन्तिम टुंगो लगाउने काम एमालेमा ओलीले र कांग्रेसमा देउवाले गर्ने बताइएको छ । सरकारलाई समर्थन गर्ने साना दललाई समेत सरकारमा सहभागी गराउने बताइएको छ ।
दुवै दलका बीचमा भएको छलफलनुसार अर्थ एमालेले र गृह कांग्रेसले लिने लगभग टुंगो लागिसकेको छ । ‘प्रधानमन्त्रीसँग अर्थ मन्त्रालय रहन्छ, कांग्रेसले गृह मन्त्रालय लिन्छ,’ छलफलमा सहभागी एक नेताले भने, ‘अहिलेसम्म परराष्ट्र पनि कांग्रेसले लिने कुरो छ ।’
हाल संघीय सरकारमा २१ वटा मन्त्रालय रहेका छन् । संविधानले प्रधानमन्त्रीसहित बढीमा २५ जनासम्मको मात्रै मन्त्रिपरिषद् हुने निश्चित गरेको छ । नयाँ सरकारमा प्रधानमन्त्री, २१ जना मन्त्री र तीन राज्यमन्त्री रहने निश्चित छ । हालसम्म एमालेले अर्थ र सूचना तथा सञ्चार प्रविधि मन्त्रालय लिने एवं कांग्रेसले गृह र परराष्ट्र लिने निश्चित भइसकेको छ । एमालेले रक्षा, कानुन, स्वास्थ्य, भौतिक मन्त्रालयमा पनि दाबी गरेको छ । भौतिकमा कांग्रेसको पनि दाबी छ । भौतिक पूर्वाधार एमालेले लिने र सहरी विकास मन्त्रालय कांग्रेसले लिने धेरै सम्भावना छ ।
शक्ति बाडँफाँट’बारेमा भावी प्रधानमन्त्री ओली नै निर्णायक रहने एमालेका नेताहरू बताउँछन् । ‘केपी ओली नै प्रधानमन्त्री हुने भनिसकेपछि कुन मन्त्रालय आफूले राख्ने कुन कांग्रेसलाई दिने भन्नेमा उहाँले नै चासो राखिहाल्नु हुन्छ,’ एमालेका एक नेताले भने ।
एमालेबाट अर्थमन्त्री विष्णु पौडेलको चर्चा छ । यद्यपि, उपप्रधानमन्त्री नराखिने अवस्थामा पौडेल अर्थमन्त्री नबनेर योगेश भट्टराई वा पदम गिरी अर्थमन्त्री बन्नसक्ने सम्भावना रहेको छ । कांग्रेसबाट परराष्ट्रमन्त्रीमा डा. आरजु देउवा राणाको सम्भावना बढी छ । गृहमन्त्रीमा रमेश लेखकको चर्चा बढी भए पनि सहमहामन्त्री किशोरसिंह राठौरले आफूलाई गृहमन्त्री बनाउन सभापति देउवालाई दबाब दिइरहेका छन् ।
देउवाका प्रिय मानिने राठौर मन्त्री बन्ने पक्का भए पनि गृह वा सहरी विकासमध्ये कुन हुने निक्र्योल भइसकेको छैन । कांग्रेसभित्र विगतमा मन्त्री भइसकेकादेखि पहिलोपटक सांसद भएका नेताहरूसमेत मन्त्रीका आकांक्षी छन् । एमालेबाट अधिकांश नयाँ र युवा अनुहारले मन्त्री बन्ने अवसर पाउने एमाले नेताहरूको दाबी छ ।
राजधानी दैनिकबाट



















