केराबारी—वर्षौंदेखि पिउने पानीको गम्भीर अभाव झेल्दै आएका मोरङ केराबारीवासीका लागि राहतको खबर आएको छ। शहरी खानेपानी आयोजना अन्तर्गत एशियाली विकास बैंक (एडीबी) मार्फत १ अर्ब रुपैयाको बजेट विनियोजन भएको छ।
गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ मगरका अनुसार, यो आयोजनाका लागि एक वर्ष अघि नै राजनीतिक दल र जनप्रतिनिधिहरूले २ अर्ब रुपैयाको अनुमानित योजना पेश गरेका थिए। त्यसमध्ये आधा रकम अर्थात् १ अर्ब रुपैया स्वीकृत भएको हो।
यो केराबारीका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो बजेट भएको उल्लेख गर्दै स्थानीयहरूले सामाजिक सञ्जालमा खुशी व्यक्त गरिरहेका छन्। यो आयोजनाको लागि सुरुवात देखि लागिपर्नुहुने सम्पुर्ण अग्रज व्यक्तित्वहरु प्रती गाउँपालिका अध्यक्ष मिरिङचिङले धन्यवाद पनि व्यक्त गरेका छन् ।
यस आयोजनाले केराबारीको वडा नं. १०, ९, ८, ३ र ७ को अधिकांश भूभाग समेट्नेछ र केराबारीको लगभग आधा जनसंख्या लाभान्वित हुने अपेक्षा गरिएको छ। योजना सञ्चालनका लागि डेढ वर्ष अघि केराबारीका अग्रज समाजसेवी नविन थापा मगरको अध्यक्षतामा शहरी खानेपानी योजना समिति गठन गरी कार्य अघि बढाइएको थियो।
पानीको स्रोत अभाव र भरपर्दो भौतिक संरचना निर्माण हुन नसक्दा केराबारीवासीले वर्षौंदेखि पानीको समस्या भोग्दै आएका छन्। यस आयोजनाले स्थानीय बासिन्दाहरूको जीवनस्तरमा सुधार ल्याउने आशा गरिएको छ।



















