काठमाडौँ — एमाले अध्यक्ष केपी ओली आइतबार चौथोपटक प्रधानमन्त्री नियुक्त हुँदै छन् । सरकार गठनका लागि दिएको समयसीमा सकिएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् ।

राष्ट्रपतिले आइतबार साँझ ५ बजेसम्मको समयसीमा दिएर संविधानको धारा ७६(२) अनुसार सरकार गठनका लागि आह्वान गरेका थिए । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय दिएका हुन् । शुक्रबार नै एमाले र कांग्रेसले ओलीलाई प्रधानमन्त्रीको दाबी पेस गरेका छन् । 

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार आइतबार साँझ समयसीमा सकिएपछि मात्रै नियुक्ति र शपथको प्रक्रिया अगाडि बढाउने तयारी छ । ‘राष्ट्रपतिज्यूबाट सरकार गठनका लागि आह्वान गर्नुभएको समयावधि सकिएपछि मात्र प्रधानमन्त्री नियुक्ति र शपथको प्रक्रिया अगाडि बढ्छ,’ उनले भने । ओलीनिकट स्रोतका अनुसार सोमबार बिहान ११ बजे प्रधानमन्त्रीको शपथ ग्रहण हुनेछ । ‘आइतबार नियुक्ति हुन्छ, सोमबार विहान ११ बजे शपथग्रहणको जानकारी पाएका छौँ, त्यसैअनुसार तयारीमा छौँ,’ स्रोतले भन्यो । 

यसअघि प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेका ओलीको शपथ आइतबार हुने भनिएको थियो । तर, नियुक्तिमा ढिलाइ भएपछि सोमबार शपथको समय निर्धारण गरिएको हो । कांग्रेस सभापति शेरबहादुर देउवा र ओलीबीच आलोपालो प्रधानमन्त्रीसहितको सहमति भएको छ । तर, सहमतिपत्र भने अझै सार्वजनिक भएको छैन । 

एमालेले सोमबार मात्रै मन्त्री बन्नेहरूको नाम टुंगो लगाउने भएको छ । शनिबार एमाले अध्यक्ष ओलीले सचिवालय सदस्यहरूसँग मन्त्रीहरूको विषयमा छलफल गरेका थिए । सांसदहरूलाई ओलीले नियुक्तिको एक घन्टाअघि मात्रै मन्त्रीको नाम टुंगो लाग्ने बताएका थिए । ‘आइतबार साँझ पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त हुनुहुन्छ । सोमबार बिहान ११ बजे प्रधानमन्त्रीको शपथ हुन्छ । सोमबार नै मन्त्री बन्ने सदस्यको टुंगो लाग्छ,’ एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने । 

एमालेले मन्त्री छान्ने जिम्मा अध्यक्ष ओलीलाई दिएको छ । प्रधानमन्त्रीको शपथलगत्तै १५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी ओलीको छ । पदाधिकारीसहित युवालाई पनि प्राथमिकता दिने तयारीमा ओली रहेको गौतमले बताए । योग्य, क्रियाशील र अहिलेको परिस्थितिको सामना गर्न सक्ने सदस्य मन्त्री बन्ने उनले बताए । ‘मन्त्री बन्ने योग्यता सबै सांसदको छ । पार्टीले आवश्यकताका आधारमा मन्त्री चयन गर्छ,’ उनले भने । एमालेले प्रधानमन्त्रीसहित आठ मन्त्रालय लिने मोटामोटी सहमति भएको छ । एमालेमा विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, छविलाल विश्वकर्मा, योगेश भट्टराई, पदम गिरी, एलपी सावालगायत मन्त्रीका लागि चर्चामा छन् । 

यसअघि कहिले प्रधानमन्त्री बनेका थिए ओली ?

ओली २४ असोज ०७२ मा पहिलोपल्ट प्रधानमन्त्री निर्वाचित भएका थिए । व्यवस्थापिका संसद्मा ५९७ सदस्यमध्ये ओलीले ३३८ मत प्राप्त गरेका थिए ।

ओलीको उम्मेदवारीलाई माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र मधेसी जनअधिकार फोरमसहित अन्य १३ वटा दले समर्थन गरेका थिए । यस्तै, ०७४ को प्रतिनिधिसभा निर्वाचनपछि सबैभन्दा ठूलो दलको हैसियतमा ओली ३ फागुन ०७४ मा दोस्रोपटक प्रधानमन्त्री नियुक्त भएका थिए ।

उनलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले ३० वैशाख ०७८ मा तेस्रोपटक प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । अल्पमतको प्रधानमन्त्री भए पनि विपक्षी दलमध्ये कुनै पनि दलले बहुमतको सरकार गठन गर्न वा त्यसका लागि आफ्नो दाबी उपलब्ध समयसीमाभित्र राख्न असमर्थ भएपछि पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई प्रधानमन्त्री पुनः नियुक्ति गरेकी थिइन् ।