एजेन्सी । क्यानडालाई पेनाल्टी सुटआउटमा हराउँदै उरुग्वे कोपा अमेरिकामा तेस्रो बनेको छ । अमेरिकारमा आज (आइतबार) बिहान भएको खेलमा उरुग्वेले क्यानडालाई पेनाल्टीमा ३–४ ले हराएको हो । निर्धारित ९० मिनेटमा २–२ को बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। क्यानडाका दुई खेलाडीले पेनाल्टीमा गोल गर्न सकेनन् ।
खेलको ८औं मिनेटमा रोड्रिगो बेन्कोरले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको २२औं मिनेटमा स्माइन कोनले गोल गर्दै खेललाई बराबरीमा ल्याए । पहिलो हाफमा एकएक गोलको बराबरी गरेका यी दुई टोलीले खेलको ८० मिनेटमा क्यानडाले अग्रता लियो । जोनाथन डेभिडले गोल गर्दै क्यानडालाई जित नजिक पुर्याएका थिए ।
तर खेलको अतिरिक्त समयको दोस्रो मिनेटमा लुइस स्वारेजले गोल गर्दै बराबरीमा ल्याए । क्यानडा सेमिफाइनलमा अर्जेन्टिनासँग पराजित भएको थियो भने उरुग्वे कोलम्बियासँग स्तब्ध बनेको थियो । यी दुई विजेता टोलीबीच उपाधिका लागि भोलि बिहान आमनेसामने हुनेछन् ।



















