काठमाडौं — एमाले उपाध्यक्षमा गुरु बराल मनोनीत भएका छन्। सुवास नेम्बाङको निधनपछि रिक्त पदमा बराललाई मनोनीत गरिएको थियो। पार्टीको बिहीबार बसेको सचिवालय बैठकले पुराना नेता बराललाई उपाध्यक्ष बनाउने सर्वसम्मत निर्णय गरेको हो। पार्टीलाई चलायमान बनाउने भन्दै बैठकले केन्द्रीय सदस्यदेखि सल्लाहकार परिषद्मा समेत सदस्यहरू मनोनीत गरेको छ।
उपाध्यक्ष मनोनीत भएका बराल यसअघि बागमती प्रदेश इन्चार्जको जिम्मेवारीमा थिए। आफू ०२९ सालदेखि नै पार्टीमा क्रियाशील रहेको बरालले बताए। मोरङको सुन्दरहरैँचास्थित साजिलाल माध्यमिक विद्यालय दुलारीको प्रारम्भिक कमिटीमा आबद्ध भई उनले राजनीतिक जीवनको सुरुवात गरेका थिए । ०३१ सालमा महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगरको स्ववियुको सदस्य निर्वाचित भएका थिए। केही समय शिक्षक राजनीतिमा संलग्न पनि भए।
०४४ सालमा नेकपा (माले) को मोरङ जिल्ला कमिटी सचिव भएका बराल ०४६ मा तत्कालीन कोशी अञ्चलको इञ्चार्ज थिए। २०५० सालमा मदन भण्डारी स्मृति प्रतिष्ठान बनाए। त्यसको अध्यक्ष भए।
०५१ सालको मध्यावधि निर्वाचनमा मोरङ–६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। ०४९ सालदेखि लगातार पार्टी केन्द्रीय कमिटीमा रहँदै आएका छन्। ०७९ सालको निर्वाचनपछि राष्ट्रपतिमा पनि उनको नाम चर्चामा थियो। सधैं जसो एमाले अध्यक्ष केपी शर्मा ओली निकट रहँदै आएका बराल केन्द्रीय कमिटी सदस्य, पोलिटब्युरो, स्थायी कमिटी हुँदै उपाध्यक्ष मनोनीत भएका हुन्।



















