गत चैतमा सम्पन्न एमाले उदयपुरको नवौं जिल्ला अधिबेशन मार्फत भागवत राउतको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भए यता विभिन्न पार्टी परित्याग गरि उदयपुरमा एमालेमा प्रवेश गर्नेको संख्या २ सय ७९ पुगेको अध्यक्ष राउतले जानकारी दिए ।
उदयपुर—नेकपा माओवादी केन्द्रका जिल्लाकै प्रभावशाली नेता नेकपा एमाले प्रवेश गरेका छन । आइतबार मात्रै नेकपा माओवादी केन्द्रका उदयपुर जिल्ला सदस्य, त्रियुगा नगर कमिटी सचिव तथा २०७४ मा त्रियुगा नगरपालिका वडा नम्बर १४ बाट निर्वाचित वडा अध्यक्ष कुरुङ राई एमाले प्रवेश गरेका हुन् । सोही कार्यक्रममा कांग्रेसकी नेतृ गीता थापा नेकपा एमाले प्रवेश गरेकी छिन ।
प्रवेश गर्दै दुवै जनाले एमालेको सिद्धान्त, जनताको भावनामा अनुरुप काम गर्ने शैली र एमालेको नीति राम्रो लागेर आफुहरु एमालेमा समाहित हुनआएको बताए । एमालेमा प्रवेश गर्दै कुरुङ राईले २०६० सालदेखि आफू माओवादीमा आबद्ध भएको भन्दै माओवादीमा आफूले गरेका कामको योगदान कहिले पनि नभएको र मुलुकको ठुलो पार्टी एमालेमा आफू समाहित भएको बताए ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको देश बनाउने संकल्प र एमालेको नीतिमा बिश्वास गर्दै उदयपुरमा बिभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेको लहर चलेको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा सफल बनाउन सबैलाई एकजुट हुन नेकपा एमालेले आह्वान गरिरहेका बेला उक्त महत्वपूर्ण आकांक्षालाई पुरा गर्न उदयपुरमा एमाले प्रवेशको लहर चलेको हो ।
गत चैतमा सम्पन्न एमाले उदयपुरको नवौं जिल्ला अधिबेशन मार्फत भागवत राउतको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भए यता विभिन्न पार्टी परित्याग गरि उदयपुरमा एमालेमा प्रवेश गर्नेको संख्या २ सय ७९ पुगेको अध्यक्ष राउतले जानकारी दिए । पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेकपा एमाले पोलिटब्युरो सदस्य मन्जु चौधरीले अब एमाले उदयपुरलाई पुरानो लाल किल्लाको विरासत फर्काउन कसैले रोक्न नसक्ने बताइन ।
उनले सिंगो एमाले उदयपुर एक ढिक्का भएर मिसन ८४ सफल गर्ने भन्दै प्रवेश गर्ने कुरुङ राई र गीता थापा मिसन ८४ सफल बनाउने थप अर्को पिलर भएको जिकिर गर्दै आफुहरुको अभियानमा होमिन आउनु भएकोमा उनीहरूलाई बधाई दिइन ।
एमाले उदयपुरका अध्यक्ष भागवत राउतले पार्टी प्रवेश गर्ने सम्पूर्ण नवआगन्तुकहरुलाई पार्टीले उचित जिम्मेवारी दिने र मिसन ८४ अभियान सफल बनाउने एक भएर लाग्ने बताए । अध्यक्ष राउतले एमाले पार्टीको नीति नियम र सिद्धान्त बिपरित गतिबिधि गर्ने जोकोही कारबाहीको भागिदार समेत बन्ने हुँदा सबैले एमालेको विचार र सिद्धान्तमा रहेर काम गर्न समेत आग्रह गरे ।
नेकपा एमाले उदयपुर जिल्लाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम एमाले उदयपुर इन्चार्ज समेत रहेकी पार्टी पोलिटब्युरो सदस्य मन्जु चौधरीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष भागवाट राउतले गरेका थिए ।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्य अम्बिका थापा, प्रदेश कमिटी सचिवालय सदस्य ईश्वरमणी राउत, प्रदेश सदस्य तथा उदयपुर निर्वाचन क्षेत्र नम्बर २ का संघीय सांसद अमरबहादुर रायमाझी, प्रदेश सदस्य प्रकाश बस्नेत, कान्ता राई, एमाले केन्द्रीय सल्लाहाकार परिषद सदस्य बैकुण्ठ दाहाल लगायतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम एमाले उदयपुरका सचिव टेकबहादुर राउतले सञ्चालन गरेका थिए ।



















