झापा — झापा — झापामा एकै दिन दुइटा घटना भएको छ । शिवसताक्षी नगरपालिका–८ शिवालय टोल बस्नेत अन्दाजी ४७ वर्षीय ओमप्रकाश अधिकारीले श्रीमती अन्दाजी ५२ वर्षीया रञ्जना अधिकारीको हत्या गरेका छन् । घरयासी विवादका कारण श्रीमान् ओमप्रकाशले श्रीमती रञ्जनाको घाँटीमा खुकुरीले हानेको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिएका छन् ।
पत्नीको हत्यामा संलग्न ओमप्रकाशलाई खुकुरीसहित पक्राउ गरिएको डीएसपी चन्दले बताए । डीएसपी चन्दका अनुसार साँझ करिव ६ बजेतिर पतिले खुकुरी प्रहार गर्दा रञ्जनाको घटनास्थलमै मृत्यु भएको हो ।ओमप्रकाशविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ । घटनाको थप अनुसन्धान भइरहेको जानकारी उनले दिए ।
आजै झापामा बाबुले दाउ प्रहार गरेर छोरालाई घाइते बनाएका छन् । मेचीनगर नगरपालिका–३ दोकान डाँडाका ५७ वर्षीय पुण्यप्रसाद दाहालले आफ्नै छोरा अन्दाजी ३० वर्षीय डिल्लीराम दाहाललाई साँझ ७ः१० बजेतिर दाउले प्रहार गरेका हुन् ।
डीएसपी चन्दअनुसार खाना खाने विषयलाई लिएर विवाद हुँदा बाबुले छोरालाई धारिलो हतियारले हानेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बाबुले दाउ प्रहार गर्दा डिल्लीरामको टाउको पछाडिको भागमा चोट लागेको प्रहरीले जनाएको छ ।
सामान्य घाइते अवस्थाका डिल्लीरामको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । छोरामाथि दाउ प्रहार गर्ने पुण्यप्रसादलाई घटनामा प्रयोग भएको हतियारसहित पक्राउ गरेर प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ ।




















