झापा — झापामा एक शिक्षकले एक छात्रमाथि निर्मम कुटपिट गरेका छन्। झापाको शिवसताक्षी नगरपालिका -१० स्थित बाल निकुञ्ज माध्यमिक विद्यालयका शिक्षक हेतिराज निरौलाले कक्षा ६ मा अध्ययनरत छात्रा अन्जली गुरुङलाई निर्मम कुटपिट गरेका हुन् ।
कानुन व्यवसायी समेत रहेका नेपाली विषयका शिक्षक निरौलाले क्लास वर्क गर्न अटेर गरेको भन्दै उनलाई पाइपले पिटेको कुरा खुलासा भएको छ । शिक्षकको कुटाइ बाट छात्राको कम्मर माथिको भागमा (डढेँल्नु) तीनवटा डाम (सुम्ला) छन् । यतिखेर उनको विर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । छात्रालाई कुटेको घटना सार्वजनिक भएपछि उनले आफूबाट गम्भीर त्रुटि भएको बताएका छन् ।
कक्षा कोठामा नेपाली विषयको पढाइ भइरहेको थियो। विषय शिक्षक निरौलाले क्लास वर्क का लागि सबै विद्यार्थीलाई अनुरोध गरे । अन्जली त्यत्तिकै बसेकी थिइन् । शिक्षक निरौलाले अन्जलीलाई सोधे, ’तिमी क्लास वर्क गर्दैनौ ।’ उनले शिक्षक निरौलालाई जस्ताको त्यस्तै जवाफ फर्काइन्,’ आउँदैन सर।’ शिक्षक निरौलाले हातमा विद्यार्थी तर्साउनका लागि बोकेको पाइपको छडीले ड्याम कि ड्याम हिर्काए । समाचार स्रोतका अनुसार अन्जलीको डडेल्लमा तीनवटा सुम्ला बसेका छन्।
घाइते अवस्थाकी अन्जलीलाई विद्यालय हाताबाटै एम्बुलेन्स ले उपचारका लागि बिर्तामोड स्थित बिर्ता सिटी अस्पतालमा पुर्याएको थियो। उक्त घटनाको बारेमा
विद्यालयका प्रधानाध्यापक भवानी थापा संग सोध्दा शिक्षक हेतिराज निरौलाले गम्भीर त्रुटि गरेको बताए । उनले भने अहिले हामी विद्यार्थीसँगै अस्पतालमा छौँ । यो घटनाले विद्यालय प्रशासनलाई दुखित बनाएको छ। प्रधानाध्यापक थापाले भने -घाइते को अवस्था सामान्य भएपनि उनी हामीसँग पनि बोलिरहेकी छैनन्,।’
घाइतेको उपचारका विषयमा विषयगत शिक्षक हेतिराज निरौलाको आर्थिक व्ययभार हुनेछ । शिक्षक निरौलाको गल्तीको विषयमा विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिको छलफलपछि मात्र निर्णय गर्न सकिने प्रधानाध्यापक थापाले बताए ।




















