काठमाडौं—संविधान दिवस मनाउनका लागि कोशी प्रदेश सरकारले ५ सय १ सदस्यीय मूल समारोह समिति गठन गरेको छ । असोज २ गतेदेखि तीन दिनसम्म दिवस मनाउने तयारी छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले तयारीका लागि समिति गठन गरेको हो ।
मुख्यमन्त्री कार्कीले यस पटकको संविधान दिवस भव्य र सृजनात्मक बनाउने गरी तयारी थालिएको बताए । संविधान दिवसलाई जनतासँग जोड्ने सबै जातजाति धर्मसंस्कृति मान्ने सबैको सहभागिता हुने गरी दिवस मनाइने उनले बताए ।
‘हाम्रो देश विविधताले भरिपूर्ण छ ती सबै विविधताहरुको उजागर हुने र अपनत्व हुने गरी दिवसको तयारी छ,’ उनले भने,‘ यस पटकको संविधान दिवसमा प्रतियोगितात्मक झाँकी प्रदर्शनी, वतृत्वकला प्रतियोगिता, निबन्ध प्रतियोगिता गर्ने तयारी छ ।’



















