काठमाडौं — नेकपा एकीकृत समाजवादीले पार्टी महाधिवेशनको डेढ महिनापछि पदाधिकारी, पोलिटब्युरो र केन्द्रीय कमिटीलाई पूर्णता दिँदै गर्दा चर्चामा आइन् नेतृ रामकुमारी झाँक्री । उनी उपाध्यक्षमा निर्वाचित हुन नसकेपछि कसैले सहानुभूति जनाए त कसैले कटाक्ष गरे ।
नेकपा एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी निर्माणमा महत्वपूर्ण भूमिका निभाएकी झाँक्री जयन्ती राईसँग पराजित भइन् । नेपाली राजनितिमा क्षमतावान महिलाहरुको रुपमा स्थापित झाँक्रीको राजनीतिक करिअरमै एउटा धक्का लागेको छ ।
झाँक्रीले पराजय भोग्नुको कारण केही समयता एमाले नेताहरूसँग निकटता बढाएको विषयमा नेकपा एसभित्र र बाहिर पनि चर्चा भयो । त्यो पनि उनको पराजयको कारण हो भनेर धेरैले टिप्पणी गरेका छन् । झाँक्री एमाले नेताहरुसँग निकट भएको विषयलाई राजनीतिक रुपमा मात्रै हेर्नुपर्ने बताउँछिन् ।
उनी भन्छिन्, ‘माओवादीसँग एकता गर्नुभन्दा एमालेसँग नै बेटर हुन्छ । एमाले नै ओरिजन हो नि भन्नु मेरो पोलिटकल स्टेटमेन्ट हो । यो पार्टी माओवादीसँग ध्रुविकरण गर्ने बाटोमा गयो भने मलगायत हामी सबै एमालेमा नै जान्छौँ । एमालेसँग म उदार हुनु र उहाँहरु माओवादीसँग उदार हुनु एउटै होइन र ?’
झाँक्रीले योभन्दा पनि खतरा दिन आउन सक्छन् भनेर पार्टी छाड्नुपर्ने हुनसक्ने संकेत पनि गरिन् । एमाले नेताहरूसँगको निकटताका कारण शीर्ष नेतृत्वले अविश्वास गरेको उनको ठम्याईँ छ ।



















