- करण चौहान
विराटचोक — मोरङको सुन्दरहरैँचामा कोशी प्रदेश स्तरीय फुटशल प्रतियोगिता हुने भएको छ । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल सुन्दरहरैँचा नगर समितिले यही असोज १७ देखि १९ गते सम्म सुन्दरहरैँचा-१० स्थित प्लानेट रिक्रिएसन सेन्टरमा प्रतियोगिता गर्ने भएको हो ।
समितिले सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा कोशी प्रदेश भरीबाट २० ओटा टिमहरुले सहभागी जनाउने बताएको छ । खेलकुदको माध्यमबाट राष्ट्रिय युवा संघ नेपालले खेलकुद मार्फत युवा प्रतिभाहरूको पहिचान र विकासमा महत्वपूर्ण योगदान पुर्याउने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरीएको आयाेजक समितिका अध्यक्ष भविन पाण्डेले पत्रकार सम्मेलनमा जानकारी दिए । उनले आयाेजक संस्था पार्टीगत भएता पनि कुनै पनि किसिमकाे पक्षपात नभई निष्पक्ष खुला नकआउट प्रतियाेगिता हुने बताए ।
प्रतियोगितामा विजेता हुने लाई नगद रू १ लाख १ हजार तथा उपविजेतालाई नगद रु ५१ हजार पुरस्कार प्रदान गरिने अध्यक्ष पाण्डेले बताए । त्यसैगरी बेस्ट प्लेयर दश हजार, बेस्ट गाेलकिपर पाँच हजार र फाईनलकाे दिनकाे म्यान अफ द म्याचलाई पाँच हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको अनुमानित खर्च ७ लाख रहेको बताइएको छ । प्रतियाेगितामा माेरङ जिल्लाबाट १३, सुनसरीबाट ३, झापाबाट २, धनकुटाबाट १ र इलामबाट १ टिम रहेका छन् ।
उत्कृष्ट टोलीहरूले आफ्नो कौशल पदर्शन गर्दै प्रतिस्पर्धा गर्ने यो प्रतियोगिताले विभिन्न क्षेत्रका युवा खेलाडीहरूलाई एकसाथ ल्याई खेलकुदमा अनुशासन, मिहिनेत र समूहगत कामको महत्वलाई उजागर गर्ने खेल संयाेजक तथा केन्द्रीय स्थायी कमिटी सदस्य मनाेज राईले बताए । फाईनल खेलकाे दिन काेशी प्रदेश र मधेश प्रदेशबीच मैत्रीपुर्ण खेल हुने उनले बताए ।
प्रतियोगिताको उदघाटन समारोहलाई सांसद तथा नेकपा एमालेका कानुन विभाग सदस्य सुहाङ नेम्वाङले गर्ने र समापन समारोहमा संगठनका अध्यक्ष क्षितिज थेवे रहने उल्लेख गरिएको छ । प्रतियोगिताले युवा खेलाडीहरूको व्यक्तिगत विकासका साथमा एकता र सदभाव ल्याउँनुका साथै उनीहरूको खेलकुद सम्बन्धी ज्ञान र कौशलमा वृद्धि ल्याउने सुन्दरहरैँचा नगरपालिकाका नगर प्रवक्ता राेसनप्रसाद ढकालले बताए ।
उक्त पत्रकार सम्मेलनमा नेकपा एमालेका नेताहरु बद्री अर्याल, सन्तोष वान्तवा, रोशन ढकाल, युवा संघको केन्द्रीय सचिवालय सदस्य मनोज राई, मोरङ जिल्ला कमिटी अध्यक्ष प्रविण घिमिरे, प्रवक्ता मनोज दाहाल लगायतको उपस्थीती रहेको थियो । कार्यक्रमलाई युवा संघ मोरङका सदस्य केशव बास्तोलाले सन्चालन गरेका थिए । 'शारीरिक खेलकुद मानसिक सद्भाव' भन्ने मुल नाराका साथ आयोजना गरीएको खेल प्रत्येक दिन विहान ८ बजे देखि शुरू गरिने आयोजकले जनाएको छ ।


















