इटहरी। हाल देशभर पश्चिमी वायुको प्रभाव छ। कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको पनि प्रभाव रहेको छ।यतिबेला (शुक्रबार बिहान) कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।आज दिउँसो पनि देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।आज राति पनि कोसी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। राति कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।


















