विराटचोक — मोरङको सुन्दरहरैँचा नगरपालिका स्थित इन्द्रपुर क्रीकेट क्लबले वडा स्तरीय क्रीकेट प्रतियोगिता गर्ने भएको छ । क्लबले कार्तिक ५ गते देखि १० गतेसम्म सुकुना बहुमुखी क्याम्पसको खेल मैदानमा प्रतियोगिता गर्न लागेको हो ।
क्लबले शनिबार विराटचोकमा पत्रकार सम्मेलन मार्फत नगर मै पहिलो पटक उक्त प्रतियोगिता गर्न लागिएको जानकारी गराएको छ ।
नगर भित्रका प्रतिभाशाली खेलाडीहरुलाई पहिचान गरी भविष्यमा उनीहरुको लागि अवसर सिर्जना गर्ने मुख्य उदेश्यले सो प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष प्रमेन्द्र केसीले बताए । स्थानीय स्थारमा क्रिकेटको विकास गर्न,युवाहरुमा क्रिकेट खेलप्रतिको चासो र जजागरुपता बढाउने लक्ष्य रहेको उनले बताए ।
त्यस्तै सुन्दरहरैँचा १२ न. वडाका वडाध्यक्ष तथा नगर प्रवक्ता रोशनप्रसाद ढकालले नगरमै पहिलो पटक क्रीकेट प्रतियोगिता आयोजना गर्न लागिएको हुदाँ सबैले मिलेर सफल बनाउन अनुरोध गरे।
प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजारको साथमा ट्रफी तथा प्रमाण पत्र प्राप्त गर्नेछन । दोश्रो हुने टिमले नगद १५ हजारको साथमा ट्रफी तथा प्रमाण पत्र प्रदान गरिने र उत्कृष्ठ खेलाडीलाई नगद २ हजार दिईने आयोजकले जनाएको छ।
करिव ३ लाख ५० हजार लागत खर्चमा प्रतियोगिता सम्पन्न हुने आयोजकले जनाएको छ। १२ वटा वडाहरु रहेको सुन्दरहरैँचामा ११ वटा वडाबाट १२ वटा टिमहरुको सहभागीता रहने छ । जसमा १ न वडा सहभागी नहुने र १२ न वडा बाट दुई वटा टिमको सहभागिता रहने नगर खेलकुद विकास समितिको सदस्य केशब बास्तोलाले जानकारी दिए ।



















