काठमाडौँ — नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावलले पार्टीभित्रको तानाशाही शैलीको विरोध गर्न कार्यकर्ताहरूलाई आह्वान गरेका छन्।

सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत नेता रावलले पार्टीको विचारधारा, परम्परा, र संवैधानिक अधिकार विपरीत कुनै बैठक र छलफल नगरी धम्क्याउने र स्पष्टीकरण सोध्ने कार्य गरिएको भन्दै यसको विरोध गर्न अपिल गरेका हुन्।

उनका अनुसार सुदूरपश्चिम प्रदेश कमिटी र अछाम, कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई बिना कारण धम्क्याएर स्पष्टीकरण सोधिएको छ। नेता रावलले पार्टीले व्यवसायी मीनबहादुर गुरुङबाट लिएको जग्गा दानबारे आलोचना गरेकोमा आफूलाई समेत स्पष्टीकरण सोधिएको जनाएका छन्।

रावलले लेखेका छन्, “पार्टीको परम्परा, विचारधारा, र संवैधानिक हकको अवहेलना गर्दै कुनै बैठक वा छलफल नगरी पदको दुरुपयोग गरेर धम्कीपूर्ण शैली अपनाउनु अनुचित छ। सबै न्यायप्रेमी, इमानदार, र सिद्धान्तनिष्ठ व्यक्तिहरूले यस्तो कार्यको विरोध र प्रतिवाद गरौँ।”