विराटचोक — मोरङको सुन्दरहरैँचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाईंको जेठी भाउजू सीता गुरागाईंको निधन भएको छ । मंगलबार राति सडक दुर्घटनाबाट भएको उहाँको दुःखद निधनले परिवार र नगरवासीलाई स्तब्ध बनाएको छ।
६४ वर्षीया सीता गुरागाईंलाई मोटरसाइकलले ठक्कर दिएपछि उपचारका लागि विराटनगरको नोबेल मेडिकल कलेज लगिएको थियो, तर उपचारकै क्रममा उहाँको निधन भएको थियो ।
सुन्दरहरैँचा स्थित खोर्सानेमा मंगलबार राती खोर्साने-केराबारी सडक खण्डमा केराबारी तर्फ जाँदै गरेको प्र १-०२-०४६ प ३२१२ नं को मोटरसाइकलले उहाँलाई ठक्कर दिएको थियो । उहाँ सुन्दरहरैँचा नगरपालिका–१० निवासी हुनुहुन्थ्यो।
स्व. सीता गुरागाईंको परिवारमा दुई छोरा, एक छोरी र श्रीमान् हुनुहुन्छ । मेयर गुरागाईंका जेठा दाजु गणेशप्रसाद गुरागाईंकी धर्मपत्नी हुनुहुन्थ्यो। उहाँको आज दिउँसो दुई बजे बेलबारीस्थित लोहन्द्रा घाटमा अन्त्येष्टि गरिने परिवार स्रोतले जनाएको छ।



















